२०८१ बैशाख ८, शनिबार

ललितपुर महानगरपालिकामा तीन जना नेपाली कांग्रेसभित्र मेयरको उम्मेदवारी दाबेदार

लहनान्युज | सिल्लाथ्व चतुर्दशी ११४२, ३ बिहीवाः

ललितपुर महानगरपालिकामा मेयरको उम्मेदवारी विषयमा चर्चा प्रबल दाबेदारका रुपमा बहालवाला मेयर चिरिबाबु महर्जनसंगै नेपाली कांग्रेसभित्र भरतलाल न्याछ्यों र प्रेमकृष्ण महर्जनको चर्चा चलेको छन्।

स्थानीय तयको निर्वाचन घोषणा गर्नु अगावैदेखि आफू मेयरको उम्मेदवार बन्ने भन्दै न्याछ्यो र महर्जनले छलफल चलेको थियो। न्याछ्यों र महर्जनले निर्वाचनलाई लक्षित गरी विभिन्न समूह, तह र तप्कासंगै औपचारिक र अनौपचारिक भेटघाटमा आफ्नो समय खर्च गर्दै आएका छन्।

नेपाली कांग्रेसभित्र अबको मेयरको उम्मेदवारको लागि पार्टीको जिल्ला, क्षेत्र, नगर र वडाको इकाई समितिमा पनि दुवैको नाम प्रखर रुपमा आएका हुन्। बहालवाला मेयर चिरिबाबु महर्जनको सोच, शैली र संस्कार कार्यसम्पादनको विरोध गर्दै त्यसको विकल्पका रुपमा यी दुई जनाले आफूलाई प्रबल दाबेदारको रुपमा अघि सारिएको जनाएको छ।

\न्याछ्यों ललितपुर जिल्लामा पूर्वमन्त्री ओमकारप्रसाद श्रेष्ठपछिको सबै भन्दा पुराना र बौद्धिक नेता मानिन्छ। २०३६ सालको जनमत संग्रहताका पूर्वप्रधानमन्त्री विपी कोइरालाको भाषण सुनेर न्याछ्यों प्रजातान्त्रिक आन्दोलनमा लागेका थिए।२०४९ साल असोज २० गते कांग्रेस जिल्ला कार्यसमितिको सहसचिव, पार्टीको नवौं महाधिवेशनपछि २०५२ साल र १२ औं महाधिवेशनपछि २०६७ सालमा गरी दुई पटक नगरसभापति भइसकेका न्याछ्यों पार्टीका १३ र १४ औं मा केन्द्रीय महाधिवेशन प्रतिनिधिको रुपमा रहदै आएका छन्।‘यतिबेलादेखि नेपाली कांग्रेसको राजनीतिमा निरन्तर लागिरहेको छु। अहिलेसम्म कुनै लाभको पद लिएको छैन।

पार्टीमा गरेको त्याग, संघर्ष र क्षमतालाई हेरेर यसपटक आफ्नो मुल्याकंन हुनेमा म विश्वस्त छु।’ न्याछ्योंले भने।न्याछ्यों यस अघिको स्थानीय तहको निर्वाचनमा पनि पार्टीभित्र मेयरको लागि प्रबल दाबेदार थिए। स्थानीय निकायमा जनप्रतिनिधिविहीन हुंदाको लामो समय सर्वदलीय संयन्त्रमा रहेर न्याछ्योंले निर्वाह गरेको भूमिकाले मेयरको उम्मेदवारको स्वतः दाबेदारका रुपमा पार्टीभित्र नेता र कार्यकताले लिएका थिए।पार्टीको १ देखि २९ सम्मका वडाको इकाई समिति मध्ये आठ ठाउंबाट न्याछ्योंलाई मेयरको उम्मेदवारको पहिलो सूचीमा, १२ औं ठाउंबाट २ नम्बरमा राखेर सिफारिश गरिएको थियो। बांकी वडाबाट तेस्रो सूचीमा राखेर सिफारिश गरिएको थियो।

पाँच वर्षयताको महानगरपालिकाको निराशाजनक प्रस्तुती, महालेखा परीक्षकको कार्यालयको प्रतिवेदनले पटक पटक बेरुजु र अनियमितता स्थिति देखाएको अवस्थामा मेरो तर्क, दाबाप्रति केन्द्रीयस्तरका नेताहरु पनि सकारात्मक देखिएको न्याछ्योंको भनाई रहेको छ। अर्का दाबेदार महर्जनले २०४८ सालदेखि नै पार्टीभित्र निरन्तर सक्रिय रहदै आएका छन्। महर्जन २०५४ सालको स्थानीय निकायको निर्वाचनमा उपमेयरको उम्मेदवार बनेका थिए र २०७४ सालमा भएको प्रदेशको निर्वाचनमा ललितपुर क्षेत्र नं २ ‘ ख ’ को उम्मेदवार थिए। पार्टीको १४ औं महाधिवेशनमा महाधिवेशन प्रतिनिधि बनेका थिए ।

जनतामाझ सहजै घुलमिल हुने क्षमता भएका महर्जन ललितपुर ईटा उद्योग संघ, ज्यापू समाज, विभिन्न क्लब र संगठनमा आबद्ध रहेका छन्।मानिसलाई मर्दा र पर्दा निकै डेटेर सहयोग गर्ने महर्जनको गुणले कार्यकता र शुभचिन्तकहरुको घेरा ठूलो रहेको छ। आफू मेयर भएमा ललितपुरको भूगोल र सामथ्र्य अनुसार विकास गर्ने, यहांका कला संस्कृति सम्पदाको संरक्षण गर्ने, स्थानीय सरोकारवालावालासंग मिलेर विकास गर्ने एजेण्डा महर्जनले अघि सारेका छन् ।‘अहिलेको जनप्रतिनिधिले जनतामा आशा र उत्साह जगाउन सकेको छैन। जनताको आशा र भरोसाको लागि जनतासंग खुल्ला रुपमा छलफल गर्ने, सोच्ने, सहकार्य गर्ने गुण आवश्यक छ।

यसको परिपूर्ति गर्न आफू उम्मेदवार बन्न दौडधुप गरिरहेको छु ।’ महर्जनले भने।यसअघिको स्थानीय तहको निर्वाचनमा पनि महर्जनले आफूलाई दाबेदारको रुपमा प्रस्तुत गरेका थिए। कांग्रेसको ९ वटा वडा समितिले मेयरको उम्मेदवारको रुपमा पहिलो सूचीमा, ५ वटा वडाले दोस्रो सूचीमा सिफारिश गरेको थियो।सिफारिश गरिएका मध्ये दुई वटा वडाले मात्र पहिलो सूचीमा राखेर मेयर चिरिबाबु महर्जनको नाम परेको थियो। तैपनि महर्जन उम्मेदवार बन्नुमा तत्कालीन पार्टी सभापति मदनबहादुरको हठले बढी काम गरेको थियो।

तत्कालीन जिल्ला सभापति एवं अहिलेको केन्द्रीय सदस्य मदनबहादुर अमात्यले पार्टीभित्रको विधि, प्रक्रिया जबरजस्ती मिचेर एकलौटी रुपमा महर्जनलाई उम्मेदवार बनाएको थियो। पार्टीको १४ औं महाधिवेशनपछि पार्टीभित्रको आन्तरिक शक्ति संरचना फेरिएको छ। सर्वसाधारण जनतामाझ मात्र होइन, कांग्रेसभित्रकै अधिकाशं नेता र कार्यकता अझ पार्टीको आन्तरिक संरचनाका लगभग प्रायः नेतृत्व बहालवाला मेयरको व्यवहार, शैली र कार्यलाई लिएर चिढिएका छन्। यद्यपि जिल्ला तहमा आफ्ना विरोधीको वर्चस्व रहेपनि आरजु देउवा मार्फत पार्टी सभापतिलाई मनाएर उम्मेदवारको टिकट लिने दाउमा बहालवाला मेयर महर्जनले भित्रि रुपमा प्रयास गरिरहेको बुझिएको छ।

मेयरका एक सहयोगीका अनुसार जुनसुकै मूल्यमा बहालवाला मेयर महर्जनले फेरि मेयरको उम्मेदवार बन्न टिकट लिने दाबी गरेका छन्।स्मार्ट सिटीको अवधारणा अनुसार ललितपुरमा धेरै काम गरेको र बांकी काम पूरा गर्न मेयरमा पुनः उठ्ने भनेर सार्वजनिक रुपमा मेयर महर्जनले बोल्दै आएका छन् ।२०७७ भदौं १८ गते विहीबार स्वतःस्फूर्त रातो मच्छिन्द्रनाथ तान्ने क्रममा भएको पुल्चोकमा भएको झडप निम्त्याउनुमा धेरै हदसम्मको जिम्मेवार रहेको पाटनबासी अधिकाशंको बुझाई रहेको छ। झडपपछि मेयर महर्जनकै आग्रहमा प्रहरीले घरघरमा गएर सम्पदा अभियन्तालाई गिरफ्तार गरेको घटना पाटनबासीको मनमस्तिष्कमा तरोताजा नै रहेका छन्।

महानगरपालिकाको परिसरमा रहेको नत्वाः पलेस्वा पुखूःमा (पोखरी) लाई पोखरीको स्वरुप दिनुपर्ने स्थानीयको आन्दोलनलाई प्रहरी मार्फत दमन गर्न खोज्दै अन्ततः त्यस ठाउंमा पार्किङ्ग बनाएको ढुंङ्गेधारा पोखरी संरक्षणमा लागिरहेका अभियन्ता सुशील श्रेष्ठको जिकिर रहेको छ।हस्तकला नगरीको घोषणाप्रति मेयर गैरजिम्मेवार बनेको, पांच वर्षको एकचोटी हुने सम्यक महादान पर्वको लागि स्रोत विनियोजितमा गरेको बेवास्ता, हिरण्यवर्ण महाविहारको पुनःनिर्माणको लागि स्रोत विनियोजितमा आनाकानी, दोहोरो चरित्र, बौद्ध विहारको पुनःनिर्माणमा उदासिनता जस्ता कारणले बहालवाला मेयरबाट स्थानीय निकै चिढिएका हुन्यसले गर्दा पनि मेयरको उम्मेदवारको टिकट यी दुई मध्ये एकले पाउनेमा अधिकाशं कांग्रेस नेताको भनाई रहेको छ।

यसैबीच नेपाली कांग्रेसका ललितपुर नगर सभापति सुभानन्द धाख्वालाई पनि मेयरको उम्मेदवारको दाबेदारको रुपमा प्रस्तु्त गर्दै युवा कार्यकताहरु आ–आफ्नोस्तरमा लबिङ गर्न थालेका छन्। नगरसभापति भएपछि स्वतःमेयरको दाबेदार रहको धाख्वा नजिकका युवा कार्यकताहरुको भनाई रहेको छ।