२०८१ बैशाख ५, बुधबार

डा. डिला संग्रौला पन्त सह–महामन्त्री पदकी दावेदार

लहनान्युज | थिंला अष्टमी ११४२, मंसीर २५ सनिवाः

काँग्रेस १४औं महाधिवेशनमा सह–महामन्त्री पदकी दावेदार डा. डिला संग्रौला पन्तले पत्रकार सम्मेलन गर्दै आफ्नो घोषणा–पत्र सार्वजनिक गर्नुभएको छ।

संघीय संसदको सदस्य तथा नेपाली काँग्रेसको केन्द्रीय सदस्य समेत रहुनभएकी उहाँले घोषणा पत्र सार्वजनिक गर्दै आफू पार्टीभित्र बैचारिक बहसको पक्षमा रहेको बताउनुभयो। काँग्रेसलाई सवल ढंगले अघि बढाउनको निम्ति पार्टीमा महिला र युवा नेतृत्वलाई न्यायोचित स्थान दिईनुपर्ने बताउँदै उहाँले आफू सकारात्मक विभेदको पक्षमा रहेको जानकारी दिनुभयो। पार्टीभित्र रूपान्तरण कि पुस्तान्तरण भन्ने बहस सुरु भएको भन्दै उहाँले यी दुबै चिज आवश्यक रहेको पत्रकार सम्मेलनमा बताउनुभयो।

महिला शसक्तीकरण र युवालाई पार्टीभित्र उचित जिम्मेवारी दिन आवश्यक रहेको बताउँदै उहाँले जसको नेतृत्व उसको नीति भन्दापनि जसको नीति उसको नेतृत्वका आधारमा काँग्रेसलाई अघि बढाउन सकेमा पार्टी अझ सुदृढ हुने धारणा राख्नुभयो।आफू नेतृत्वमा रहेपनि काँग्रेस, नरहेपनि काँग्रेस भन्ने आफ्नो मान्यता रहेकोले नेपाली काँग्रेसका सबै नेता तथा कार्यकर्तालाई सोही मुताविक अघि बढ्न समेत उहाँले आग्रह गर्नुभयो। २०३८ सालमा महेन्द्र मोरङ क्याम्पसमा स्ववियू उम्मेदवार भई कार्यसमितिमा निर्वाचित भएपछि उहाँको राजनीतिक जीवन अझ सक्रिय बन्यो।

विवाहपश्चात् जन्मथलो दाङ छोडेर कर्मथलो विराटनगरको राजनीतिमा होमिनुहुनुभएकी उहाँको ०४६ सालको राजनीतिक परिवर्तनमा सक्रिय भूमिका रह्यो । फलस्वरुप उहाँ बिराटनगरको तात्कालीन वडा नं. १५ बाट महिला संघको सभापतिमा चुनिनुभयो । २०५३ सालदेखि लगातार महाधिवेशन प्रतिनिधि रहँदै आउनुभएकी उहाँ महासमिति सदस्य हुँदै नेपाली काँग्रेस मोरङको उपसभापति समेत बन्नुभयो । आफन्तहरूको बिमतीका बाबजुद महेन्द्र मोरङ बहुमुखीक्याम्पसको स्थायी उप–प्राध्यापकको जागीर छोडेर राजनीतिमा पूर्णकालीन बन्नुभएकी डा. डिला संग्रौला पन्तलाई नेपाली काँग्रेसले ०६४को संविधानसभा निर्वाचनमा समानुपातिक उम्मेदवार बनायो।

महिला संघको केन्द्रीय अध्यक्षको जिम्मेवारी समेत निर्वाह गरिसक्नुभएकी उहाँ ७२ सालको काँग्रेस महाधिवेशनबाट अत्यधिक मतले केन्द्रीय सदस्यमा चुनिनु भयो । नेपाली काँग्रेसको तर्फबाट संघीय संसदको सदस्य रहनुभएकी उहाँलाई अहिले नेपाली काँग्रेसको सह–महामन्त्री पदको प्रवल दावेदार मानिएको छ।