२०८१ बैशाख १४, शुक्रबार

उपत्यका विकास प्राधिकरण खारेजीको हाम्रो माग यथावत छः मेयर शाक्य

रसिया श्रेष्ठ | थिंला नवमी ११४२, मंसीर २६ आईतवाः

काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले उपत्यका विकास प्राधिकरणलाई सबै कामको जिम्मा आफैले मात्रै लिनु उचित नभएको बताउनु भएको छ । २७ औँ काठमाडौँ महानगर दिवसको अवसर पारेर आज गरिएको पत्रकार सम्मेलनमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो।
 
‘उपत्यका विकास प्राधिकरण आफैँ कार्यकारी निकाय हो । उसको काम भनेको नीति बनाउन हो,’ शाक्यले भन्नुभयो, ‘स्थानीय निर्माणसँगै सबै काम स्थानीय तहले गर्ने र त्यो अधिकार स्थानीय तहमा आएपछि त्यहि प्रकृतिको काम प्राधिकरणले नगरे हुन्छ भनेर उपत्यकाका सबै नगरका मेयरहरुको फोरमले त्यसको खारेजीको माग गरेको हो । अहिले पनि त्यो माग यथावत छ ।’ 
 
त्यसैरी उहाँले संघीय र प्रदेश सांसदहरुलाई पनि उहाँले सकेसम्म एकिकृत योजनासहित ठूला–ठूला योजनाका काम गर्न आग्रह गर्दै महानगरपालिकाले गर्ने काममा बजेट खर्च नगर्न सुझाव दिनुभयो । ‘माननीयज्युहरुको पनि बाध्यता छ । आफूलाई जिताएर पठाएका मतदाताको माग अनुसार र आफ्नो उपस्थिति देखाउन पनि ढल राख्ने, ब्लक छाप्ने जस्ता काम गर्नुपरेको छ,’ उहाँले भन्नुभयो, ‘सकेसम्म उहाँहरुले संसदकोषको बजेटबाट मिलेर ठूला–ठूला योजनाका काम गरिदिनुहोस् भन्ने छ । हामीले जुन काम गर्न बजेट विनियोजन गरेका छौँ । त्यही काम उहाँहरुले गर्दा खर्च बढ्ने र कामको डुब्लीकेशन हुनेभयो ।’ 
 
उहाँले चुनावी घोषणापत्रमा उल्लेख भएका केही कामगर्न नसकेको पनि स्वीकार गर्नुभयो । ‘हामीले चुनावी घोषणापत्रमा उल्लेख गरेका केही काम गर्न सकेका छैनौँ,’ उहाँले भन्नुभयो, ‘चक्रपथ विस्तारको काम सम्पन्न नहँुँदा हामीले मोनोरेलको काम अघि बढाउन सकेनौँ ।
 
त्यसैगरी तीनकुनेको बुद्धपार्क निर्माण गर्ने कुरा पनि सरकारले मुआब्जाको विवाद मिलाउन नसक्दा समस्या भयो,’ उहाँले भन्नुभयो, ‘भृकुटी मण्डपमा निर्माण गर्ने मेगाहल निर्माणको काम पनि हामीले अघि बढाउन सकेका छैनौँ ।’ उहाँले महानगरपालिका भवन निर्माण सुरु भएको भन्दै केही सम्पदा पुर्ननिर्माणमा मुद्धा परेका कारण ढिलाई भएको पनि जानकारी दिनुभयो ।