२०८१ बैशाख ११, मंगलबार

वातावरणमैत्री पूर्वाधार निर्माणमा हाम्रो जोड छ — मेयर शाक्य

रसिया श्रेष्ठ | सिल्लाथ्व दशमी ११४२, माघ २८ शुक्रवाः

काठमाडौँ महानगरपालिकाले त्रिपुरेश्वर बस विसौनीसँगै आधुनिक शौचालय सञ्चालनमा ल्याएको छ ।  एरोशानसँगको सहकार्यका निर्माण गरिएको शौचालय आज महानगरका मेयर विद्यासुन्दर शाक्यले उद्घाटन गर्नुभएको हो । त्यस अवसरमा उपमेयर हरिप्रभा खड्गी श्रेष्ठ, वडाध्यक्ष हीरालाल तण्डुकार, सहरी योजना आयोगका उपाध्यक्ष सरोज बस्नेत, एरोशानका नेपाल प्रतिनिधि प्रकाश अमात्यसहित पदाधिकारीहरु सहभागी हुनुहुन्थ्यो । पुरानो टिकट काउन्टर भएको ठाउँमा शौचालय निर्माण गरिएपछि बसबाट झर्नेवित्तिकै सुविधा भोग गर्न पाइने भएको छ ।
 
उदघाटनपछि बोल्दै मेयर शाक्यले, दिगो विकासका लागि वातावरणमैत्री पूर्वाधार निर्माण र प्रविधियुक्त सहरी सेवा सुविधा वितरणमा प्रतिवद्ध रहेको बताउनुभयो । ‘सहरमा सार्वजनिक शौचालय चाहिन्छ भन्ने माग छ । तर आफ्नो नजिक नबनाइदिनु भन्ने शर्त हुन्छ । त्यसैले हामीले काम गर्दा विवाद आउला कि, काम रोकिएला कि भनेर डराउनुपर्छ ।’ मेयर शाक्यले भन्नुभयो, ‘हामीले घना बस्तीकाविच कसैलाई असर नहुने शौचालय बनाउने भनेका थियौँ । हामीले भनेको कुरा स्थापित गर्न केही समय लाग्यो । आज स्थापित भयो । हामीले बनाएका शौचालय दुर्गन्ध नआउने, शौचालय छ कि छैन थाहा नहुने खालका हुन्छन् । हामीले जे नीति लिएका थियौँ । आज क्रमशः कार्यान्वयनमा ल्याएका छौँ । यसका लागि स्थानीयबाट प्राप्त भएको सहयोग अतुलनीय छ ।’हामीले लिएका नीति तथा कार्यक्रमहरु क्रमशः कार्यान्वयनमा जाँदै छन् ।
 
शौचालय अपरिहार्य आवश्यकता हो । यसको गम्भीरतालाई हामीले समितिमार्फत अध्ययन गरेका छौँ । उद्घाटनपछि बोल्दै उपमेयर हरिप्रभा खड्गी श्रेष्ठले नमूना कामलाई विस्तार गर्नुपर्ने बताउनुभयो ।
 
यो ठाउँमा सार्वजनिक शौचालय बनाउन नदिन विभिन्न खालका  दबाब आएका थिए । धेरै मान्छेलाई नभइ नहुने भएपछि हामीले त्यो दबाब झेलेर पनि काम गरेका हौँ । कार्यक्रममा वडा ११ का अध्यक्ष एवं विधायन समितिका संयोजक  हीरालाल तण्डुकारले, हिजो  नबनाउन दवाब दिएकाहरुलाई अहिले ठीक काम भएको महसुस भएको उल्लेख गर्नुभयो । त्यस क्रममा वडा सदस्य सरोज मुल्मीले, आफ्नो कार्यकालमा भएका स्मरणीय काममध्ये सार्वजनिक शौचालय बनाउनु महत्वपूर्ण रहेको उल्लेख गर्नुभयो ।
 
शौचालय भन्ने वित्तिकै कुनामा अँध्यारोमा हुनुपर्छ भन्ने मान्यता पाइन्छ । यसमा महानगरको निर्णयबाट नमूना काम भएको छ  । एरोसानका नेपाल प्रतिनिधि प्रकाश अमात्यले, बायो डाइजेष्टरसहित सबै प्रणाली थोरै ठाउँमा जडान गरिएको जानकारी दिनुभयो । अब वातावरणमैत्री सार्वजनिक शौचालय बनाउन ठाउँ कम भएर बाधा हुँदैन । यो नमूना भएको छ । अमात्यको भनाइ थियो ।
 
शौचालय ५ स्वायर फिटमा निर्माण भएको छ । यसको लम्बाई २८ फिट र चौडाई १२ फिटको छ । शौचालयमा पुरुष युरिनल ४ वटा क्युविकल २ वटा, महिलाका लागि २ वटा, एउटा समावेशी ठाउँ छ ।
 
भवनबाट आकाशे पानी संकलन, प्रशोधन र प्रयोग गर्न सकिन्छ ।  महिला, बालबालिका, अपाङ्गता भएका व्यक्ति, जेष्ठ नागरिक सबैका लागि प्रयोगमैत्री हुनु, स्वचालित प्रबिधिमा आधारित सुविधा, उत्पादित फोहोर वातावरणमा जानबाट रोक्ने प्रणाली स्मार्ट शौचालयका विशेषता हुन् । यहाँ महिलाहरुलाई प्याड लिन मिल्ने र प्रयोग गरिएको प्याड व्यवस्थापन गर्ने डिस्पोजल मेसिन, स्वचालित प्रबिधिबाट पानी र झोल साबुन आउने प्रबिधि, हात सुकाउने मेसिन (ह्याण्ड ड्रायर) जस्ता सुविधा जडान गरिएका छन् ।
 
काठमाडौं महानगरपालिकाले सार्वजनिक शौचालयको पहुँच बढाउन यस बर्ष व्यवसायीहरुसँग अघि बढ्ने नीति बनाएको छ । उनीहरुले आफ्नो प्रयोजनका लागि सञ्चालन गरेको शौचालय सर्वसाधारणलाई निःशुल्क प्रयोग गर्न दिएवापत् यस बर्ष व्यवसायीहरुलाई व्यवसाय करमा ५० प्रतिशत छुट पाउनेछन् । त्यस्तै प्रत्येक वडामा कम्तीमा एउटा सार्वजनिक शौचालय बनाउने नीति लिएको छ ।
 
काठमाडौँ महानगरपालिकाले नीति, कार्यक्रम र बजेटबाट सार्वजनिक शौचालयहरुको व्यवस्थापन गरिरहेको छ । बर्षौँदेखि सञ्चालन हुँदै आएका सार्वजनिक शौचालय, त्यसको सञ्चालन व्यवस्थापनको रुपान्तरण र स्तरउन्नति, अन्य सार्वजनिक सेवा प्रदायक कार्यालयहरुमा उपलब्ध शौचालयलाई सार्वजनिक उपयोग ल्याउने सम्भावनामा महानगरको जोड छ । नयाँ र प्रविधियुक्त शौचालयको निर्माण, पहुँच, यसका प्रयासका मुख्य पक्ष हुन् ।