२०८१ बैशाख ६, बिहिबार

बालकुमारी गुठी जग्गा कब्जामा सक्रिय जनप्रतिनिधि

लहनान्युज | सिल्लागा सप्तमी ११४२, फागुन ११ बुधवाः

ललितपुरको प्रसिद्ध बालकुमारी मन्दिरसंगैको करोडौं मूल्यपर्ने गुठीको जग्गा कित्ता नं ९७ को क्षेत्रफल १ रोपनी १० आना २ पैसा मध्ये करिब १ रोपनी क्षेत्रफल जग्गामा गुठीको स्वीकृति बेगर अस्थायी टहरा बनाई २०७१ सालदेखि क्लबले आगटेको थियो। क्लबकै अगुवाईमा अहिले पश्चिमतर्फ (बालकुमारी मन्दिर छेउको बाटो हुँदै चक्रपथ जाने बाटोतर्फ) बाँकी रहेको करिब ६ आना जग्गामा पीलरसहितको करिब लम्बाई ५२ फीट र चौडाई १८ फीटको भौतिक संरचना निर्माण भइरहेको छ ।
 
गुठी संस्थान जग्गा धनी, गुठी तैनाथी र बालकुमारी गुठी उल्लेख भई तैनाथी लालपुर्जा रहेको सो जग्गामा अनधिकृत रुपले प्रयोग र भौतिक संरचना बनाउने कामको अगुवाई ललितपुर वडा– ७ का अध्यक्ष कुलबहादुर महर्जनले गरेको छ। वडाअध्यक्ष महर्जन क्लबको पनि अध्यक्ष हुनुहुन्छ। वडाअध्यक्ष महर्जनकै प्रयासमा ललितपुर महानगरपालिका मेयर चिरिबाबु महर्जनको तोक आदेशमा भैपरी बजेटबाट २० लाख रुपैयाँ क्लबलाई दिने निर्णय गरिएको थियो। सोही रकमबाट अहिले अनधिकृत रुपमा संरचना निर्माणमा भइरहेको बुझिएको छ।
 
गुठीको जग्गा संरक्षण गर्नुपर्ने दायित्व बोकेको जिम्मेवार व्यक्तिहरुबाटै नै गुठीको जग्गा अतिक्रमण गर्न थालेपछि गुठी जग्गा संरक्षण कसरी हुन्छ?’ गुठी संस्थान ललितपुरका प्रमुख हरिप्रसाद सुवेदीले भन्नुभयो। अहिले निर्माण भइरहेको संरचनालाई तुरुन्तै रोक्न सबैतिरबाट प्रयास गर्नुपर्ने आवश्यक छ। संस्थानले त्यहाँ बनाइएको स्थायी संरचना निर्माण कार्यलाई रोक्नेसंगै क्लबले ओगट्दै आएको ठूलो टहरा पनि भत्काउने तिर लाग्नुपर्ने सुवेदीको भनाई रहेको छ।
 
भौतिक संरचना बनाउन महानगरपालिकाले विनियोजित गरेको रकमको बाँकी किस्ता निकासा रोक्न पनि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पत्राचार गर्ने पनि प्रमुख सुवेदीले बताउनुभयो।‘ अनधिकृत रुपमा भौतिक संरचना बनाउन महानगरपालिकाले कसरी प्रक्रिया अघि बढाएको हो ? त्यो पनि आश्चर्य चकित नै छ । सुवेदीले भन्नुभयो ।
 
गुठी संस्थान ऐन २०३३ को दफा ५३ मा गुठीको परम्परा बमोजिम चलाउन्ुपर्ने काम, गुठीको चल, अचल सम्पति रक्षा गर्ने काम र संस्थानको घर, जग्गा, देवस्थल, पाटी, पौवामा संस्थानको स्वीकृति बेगर जबरजस्ती भोगचलन गर्नेलाई हटाउने जस्ता काममा स्थानीय प्रशासन, प्रहरी, गाउँ विकास समिति वा नगरपालिकाले सहयोग गर्नुेपर्ने उल्लेख गरिएको छ। यही आधारमा अतिक्रमण रोक्न स्थानीय प्रशासन, महानगरपालिका र वडा– ८ को कार्यालयमा पत्राचार गरिएको संस्थानले जनाएको छ।‘ अहिले धमाधम निर्माण भइरहेको संरचना तुरुन्तै रोक्नुपर्ने देखिन्छ । यस विषयमा मेयरसंग भेट्न पटक पटक प्रयास गर्दा पनि भेट्न सकिरहेको छैन । संस्थान प्रमुख सुवेदीले भन्नुभयो । 
 
त्यसैगरी स्थानीय सरकार सञ्चालन ऐन २०७४ को परिच्छेद– ३ मा गाउँपालिका र नगरपालिकाको कर्तव्य अन्तर्गत सार्वजनिक सम्पतिको अतिक्रमण रोकथाम गर्नु पनि उल्लेख गरिएको छ।गुठीको स्वीकृति बेगर पक्की संरचना बनाउन किन अघि बढ्नु भएको भन्ने प्रश्नमा क्लबका अध्यक्ष समेत रहनुभएका वडाअध्यक्ष महर्जनले भन्नुभयो, सो संरचना क्लबले होइन।बालकुमारी मन्दिर संरक्षण समितिले बनाएको हो।निर्माण कार्य रोक्नु भनेपछि काम रोक्न मैले पनि भनेको छु ।’ 
 
गुठी जग्गा अतिक्रमणमा आफ्नो कुनै संलग्नता नरहेको पनि अध्यक्ष महर्जनको जिकिर रहेको छ।क्लब मार्फत महानगरपालिकाबाट रकम निकासा गरी र्भौतिक संरचना निर्माण भइरहँदा पनि भवन बनाएको छैन भन्न कसरी मिल्छ र भन्ने प्रश्नमा अध्यक्ष महर्जनले भन्नुभयो यसको रेखदेख गर्नेदेखि सबै काम संरक्षण समितिले गर्दै आएको बताउनुभयो । 
 
संरक्षण समितिले गत आर्थिक वर्ष ललितपुर क्षेत्र नं २ का सांसद् कृष्णलाल महर्जनको निर्वाचन क्षेत्र विकास पूर्वाधारबाट १५ लाख रुपैयाँ सहित आर्थिक सहायता जुटाएर भुँई तल्लामा बाटोको सतहसम्म छुने गरी । वाल सिस्टम सहित भौतिक संरचना बनाएको थियो।मन्दिर, सत्तल र त्यहाँको सरसफाईको लागि आवश्यक सामग्रीहरु राख्न भनि सो संरचना बनाएको समितिका अध्यक्ष खड्गलाल महर्जनले बताउनुभयो।‘ त्यतिबेला पनि संस्थानले रोक्न पत्राचार गरेको थियो।तर अहिले त झन् पीलर राखेर तल्ला थप्न खोजिदैछ । सुवेदीले भन्नुभयो ।
 
महानगरपालिकाबाट पैसा ल्याएपछि स्टोर रुम को लागि भनि पोहोर साल बनाएको भूईतल्लाको भाग जीम हल राख्न क्लबले संरक्षण समिति समक्ष अनुरोध गरेको थियो।त्यस अनुसार जीम हलका लागि क्लबलाई ठाउँ दिन संरक्षण समितिका पदाधिकारीहरु सहमति भएका थिए।त्यसपछि क्लबले ल्याएको रकम बाट व्यापारिक प्रयोजनको उद्देश्यले पाँच वटा पसल कवल राख्न सकिने गरी अहिलेको संरचना बनाउन शुरु गरिएको थियो।
 
गुठी संस्थानको पत्रसहित अन्य पक्ष बुझेर कानून बमोजिम गुठीको जग्गा संरक्षण गर्नेतिर लाग्ने ललितपुरका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायले बताउनुभयो।