२०८१ बैशाख १४, शुक्रबार

सबै खालका योजना तर्जुमा गर्न अनुसन्धानमा आधारित आधार तयार भएको छ — मेयर शाक्य

रसिया श्रेष्ठ | सिल्लागा चतुर्दशी ११४२, फागुन १७ मंगलवाः

काठमाडौँ महानगरपालिकाले ‘मेयर्स रिसर्च फेलोसिप — शोध ग्रन्थ’ सार्वजनिक गरेको छ। आ. व. २०७७÷०७८ मा छनौट भएका विषयमा अनुसन्धानकर्ताबाट प्राप्त प्रतिवेदनहरुलाई समेटेर सहरी योजना आयोगले शोध ग्रन्थ तयार पारेको थियो। एक कार्यक्रमविच महानगरका मेयर विद्यासुन्दर शाक्य, उपमेयर हरिप्रभा खड्गी श्रेष्ठ, प्रमुख प्रशासकीय अधिकृत लोकनाथ पौड्याल, सहरी योजना आयोगका उपाध्यक्ष सरोज बस्नेतले ग्रन्थ सार्वजनिक गर्नुभएको हो। त्यस अवसरमा संघ र प्रदेश सभा सदस्यहरु पनि उपस्थित हुनुहुन्थ्यो।
 
शोध ग्रन्थ सार्वजनिक गरेपछि बोल्दै मेयर शाक्यले, अध्ययनबाट सहरी विकास र सुविधा वितरणका क्षेत्रका लागि वास्तविकतामा आधारित आवश्यकता सम्बन्धी विवरण प्राप्त भएको बताउनुभयो । त्यस क्रममा मेयर शाक्यले भन्नुभयो, ‘काठमाडौँमा देशका सबै पालिकाका नागरिक, स्थानीय शासन र व्यवस्थापनका विद्यार्थी, राजनीतिज्ञसहित सबै क्षेत्र र पक्षका मानिसहरु बस्छन् । त्यसैले काठमाडौँ नीति र कार्यक्रममा धेरैको चासो रहन्छ । यी हरेक कोणबाट आउने प्रश्नलाई अनुसन्धानमा आधारित उत्तर दिन हामीले निर्वाचित भएर आएदेखि अध्ययनमा आधारित योजना तर्जुमा पद्धति अपनाउन थालेका हौँ ।’ अनुसन्धानकर्ताबाट प्राप्त प्रतिवेदनका विषयमा कुरा गर्दै मेयर शाक्यले, अब काठमाडौँ निर्माण गर्ने, विकास योजनालाई प्राथमिकता दिने कामका लागि आधार प्राप्त भएको बताउनुभयो।
 
‘प्रतिवेदनले देखाएका विषय राजनीतिक दलले चुनावी घोषणा पत्रमा राख्न उपयुक्त छन् । प्रतिवेदनका सुझाव हामी कार्यान्वयन गर्दै जान्छौँ । यसैगरी राजनीतिक दलहरु, संघ र प्रदेश सरकारलाई पनि पठाउँछौँ।’
 
त्यस क्रममा संघीय संसद सुजिता शाक्यले महानगरका राम्रा कामहरुमा सहभागी हुन पाएकोमा खुशी व्यक्त गर्नुभयो । महानगरको यो अध्ययनबाट ‘सुखी नेपाली, समृद्ध नेपाल’ का कार्यक्रम सञ्चालन गर्न सहयोग पुग्नेमा आफू आशावादी रहेको संसद सदस्य शाक्यको भनाइ थियो।
 
प्रतिवेदनबाट महत्वपूर्ण दस्तावेज प्राप्त भएका छन् । यसले आउँदा निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिलाई विकासको आवश्यकता पहिचान गर्न धेरै सहज हुनेछ। कार्यक्रममा उपमेयर हरिप्रभा खड्गी श्रेष्ठले भन्नुभयो, ‘विज्ञहरुबाट भएका क्षेत्रगत अनुसन्धानबाट राजनीति गर्ने व्यक्तिलाई धारणा निर्माणमा धेरै सजिलो हुन्छ । जनताको आवश्यकता र विज्ञको सुझाव मिलाएरपछि दिगो विकास पाउन टाढा जानु पर्दैन।’
 
विकासको आयाम परिवर्तनशील हुन्छ। कार्यक्रममा महानगरका प्रमुख प्रशासकीय अधिकृत लोकनाथ पौडयालले, विकासका नयाँ मूल्य र मान्यता दस्तावेजका रुपमा प्राप्त भएकोले महानगरको योजना निर्माणमा सहयोग हुने अपेक्षा व्यक्त गर्नुभयो। 
स्थानीय विषयलाई परिवेश बुझेका अनुसन्धानकर्ताबाट सहभागितामुलक र सामुहिकता जस्ता अध्ययनका विधि अपनाएर अध्ययन गरिएको छ । अहिले  महानगरको योजना तर्जुमाका लागि महत्वपूर्ण दस्तावेज भएको प्राप्त भएको छ । कार्यक्रममा सहरी योजना आयोगका उपाध्यक्ष सरोज बस्नेतले धारणा राख्नुभयो । पहिलो चरणमा छानिएका १० मध्ये एकजनाले कार्य व्यस्तता देखाउँदै अनुसन्धान पूरा गर्नुभएन । ९ जनाले गर्नुभएको अनुसन्धानलाई प्रकाशनमा ल्याएका छौँ । दोस्रो चरणमा पनि ९ जनाले अध्ययन गरिरहनु भएको छ। यसबाट पनि थप तथ्य, विवरण तथा जानकारी प्राप्त हुनेछन् । उपाध्यक्ष बस्नेतले अपेक्षा राख्नुभयो।
 
प्रमाण आधारमा नीतिको विवेचना गर्दै कार्यक्रममा डा. अजयचन्द्र लालले सहरी विकास योजना तर्जुमा गर्न आधार प्राप्त भएको उल्लेख गर्नुभयो।यस अघि योजना बनाउने आधार थिएन । मनपर्दी योजना बनाउने चलनलाई अध्ययनले बाटो देखाउनेछ, उहाँको भनाइ थियो।
 
यसैगरी डा. पूर्ण नेपालीले प्राज्ञिक विषय विश्वव्यापी गर्ने तर स्थानीयकरण नगर्ने चलन भएको उल्लेख गर्दै यसलाई स्थानीयकरण गर्न काठमाडौँ विश्वविद्यालयले सहयोग गर्ने बताउनुभयो । फेलोसिपमा सहभागीको प्रतिनिधित्व गर्दै डा. कृपा सिग्देलले आफूहरुले गरेको अनुसन्धान योजना तर्जुमाका लागि महत्वपूर्ण आधार पत्र बन्ने सुनेपछि आफूले गरेको कामबाट थप खुशी मिलेको बताउनुभयो। 
 
आ. व. २०७७÷०७८ को अनुसन्धान कार्यक्रममा सहभागी अनुसन्धानकर्ताहरुले कार्यक्रममा अनुसन्धान सम्बन्धी संक्षिप्त प्रस्तुति गर्नुभएको थियो । यसै अवसरमा आ. व. २०७८÷०७९ को फेलोसिप कार्यक्रममा छनौट हुनुभएका सहभागीसँग सम्झौता गरिएको थियो। सहरी योजना आयोगले २०७७ असोज ३० गते विभिन्न १० विधामा छनौट भएका १० जना युवालाई ‘मेयर्स रिसर्च फेलोसिप’ का लागि सम्झौता गरेको थियो । उहाँहरुमध्ये १ जनाले अध्ययन पूरा गर्नुभएन । नीति–निर्माण तहमै अनुसन्धानको संस्कृति बसाल्ने र त्यसलाई कार्यान्वयन तहमा लैजाने उद्देश्यसहित ‘मेयर्स रिसर्च फेलोसिप’ कार्यक्रम सञ्चालन गरिएको हो।
 
स्थानीय परिवेश बुझ्ने अनुसन्धानकर्ताबाट विकासमा युवा सहभागितालाई उत्साह हुने व्यवहारिक कार्यक्रम अनुसन्धानबाट अपेक्षा गरिएको थियो।अनुसन्धानमा वौद्धिक चोरीलाई निषेध गरिएको छ । यसप्रकारको चोरी थाहा भएमा अनुसन्धान सम्बन्धी सम्झौता भङ्ग हुनेछ।
 
पहिलो चरणमा अध्ययन गरिएका विषयहरुमा ‘काठमाडौँ महानगरपालिका क्षेत्र भित्र रहेका विद्यालयहरुमा गैर संक्रामक रोग सम्बन्धी जोखिम र स्वस्थ जीवनशैली सम्बन्धी नीति अध्ययन, पैदल यात्रीका कारण स्थानीय अर्थतन्त्र र जीविकामा परेको प्रभाव काठमाडौँको ठमेल क्षेत्रको अध्ययन, काठमाडौँ उपत्यका भित्र दिगो जोखिम न्यूनीकरण गर्नका लागि  पूर्वाधार नक्साङ्कन सम्बन्धी अध्ययन, काठमाडौँ उपत्यका भित्रको वायु गुणस्तर र वायु प्रदुषण संयन्त्र सम्बन्धि विश्लेषण अध्ययन, काठमाडौँका सामुदायिक विद्यालयका महिला प्राध्यापकहरुको अनुभवको मात्रात्मक अवस्था रहेका छन्।
 
त्यस्तै विश्व जलवायु परिवर्तनको प्रभाव न्यूनीकरणका लागि काठमाडौँ उपत्यका रिङरोड क्षेत्रको बायोमास र कार्बोन स्टक सम्भाव्यता वृक्षारोपण सम्बन्धी अध्ययन, काठमाडौँ महानगरपालिकाका जेष्ठ नागरिकहरुको जीवनको गुणस्तर सम्बन्धी कानुन, नीति र प्रमाण सम्बन्धी अध्ययन, काठमाडौँ महानगरपालिकालाई नविन परिवर्तन हबको रुपमा विकास गर्न स्टेम शिक्षाको आवश्यकता सम्बन्धी अध्ययन, काठमाडौँ महानगरपालिका क्षेत्र भित्रको नेवार समुदायमा रहेको गरिबी र सम्भावित निवारणका पद्धति सम्बन्धी विषय छन्। काठमाडौँ महानगरपालिकाको सहरी विकास व्यवस्थापन (योजना तर्जुमादेखि कार्यान्वयनसम्म) मा सञ्चारको भूमिका र प्रभावकारिता अभिवृद्धि सम्बन्धि अनुसन्धान पनि समेटिएको छ।
 
यी विधामा क्रमश प्रतिक खनाल, कृति प्रधान, सुरज गौतम, राजीब पोखरेल, सम्राट बस्याल, नबिनराज जोशी, कृपा सिग्देल, मनिषमान श्रेष्ठ, गोपीकृष्ण ढुङ्गानाले अनुसन्धान गर्नुभएको थियो।