२०८१ बैशाख ७, शुक्रबार

सामाजिक सञ्जालमा निर्वाचन आचारसंहितामा पनि कडाइ

लहनान्युज | सिल्लाथ्व चतुर्दशी ११४२, ३ बिहीवाः

सामाजिक सञ्जाल प्रयोगमा निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनलाई लक्षित गरी जारी गरेको आचारसंहितामा पनि कडाइ गरेको छ।
 
 
आज बिहीबार राजपत्रमा प्रकाशित निर्वाचन आचारसंहिता २०७८ का कतिपय व्यवस्था सामाजिक सञ्जाल प्रयोगकर्ताले पनि पालना गर्नुपर्नेछ।
 
आयोगले तोकेको मितिपछि भने सामाजिक सञ्जालमा निर्वाचनलाई प्रभाव पार्ने, होच्याउने, अपमान गर्ने, द्वेषपूर्ण भाषण राख्ने जस्ता काम गर्न पाइने छैन।
 
आयोगले सामाजिक सञ्जालभित्र एसएमएस, फेसबुक, मेसेञ्जर, भाइबर, ट्वीटर, यूट्यूब, इन्स्टाग्राम, ब्लग, गुगल प्लस, टिकटक, ह्वाट्स एप, इमो, वीच्याट, लिन्क्ड्इन, टमलरजस्ता प्लेटफार्मलाई उल्लेख गरेको छ ।
 
३० वैशाख २०७९ मा हुने स्थानीय तह निर्वाचनका लागि जारी गरिएको आचार संहिता लागू हुने दिन भने आयोगले पछि तोक्नेछ।
 
सामाजिक सञ्जालबारे निर्वाचन आचारसंहितामा के छ ?
 
१) सामाजिक सञ्जालमा गलत, भ्रामक वा द्वेषपूर्ण सूचना प्रवाह गर्न वा गराउन नहुने ।
 
२) निर्वाचनमा प्रभाव पार्ने उद्देश्यले कसैले पनि सामाजिक सञ्जालमा झुटा साइट र एकाउण्ट सञ्चालन गर्न वा गराउन नहुने ।
 
३) सामाजिक सञ्जालमा निर्वाचनलाई प्रभाव पार्ने उद्देश्यले होच्याउने, अपमान गर्ने, द्वेषपूर्ण भाषण (हेट स्पिच) जस्ता भ्रामक टिका टिप्पणी गर्न वा गराउन नहुने ।
 
४) कुनै प्रयोजनको लागि प्रकाशन वा प्रसारण भएको सचना वा सामग्रीलाई निर्वाचनमा प्रभाव पार्ने उद्देश्यले तोडमोड गरी गराई सामाजिक सञ्जालमा शेयर वा लाइक वा कमेन्ट गर्न वा गराउन नहुने ।
 
५) कसैको चरित्र हत्या हुने, व्यक्तिगत लाञ्छना लगाउने, मानहानी हुने वा यस्तै प्रकृतिका सामग्री कुनै स्वरूपमा उत्पादन गर्न तथा त्यस्ता सामग्री कुनै माध्यमबाट प्रकाशन वा प्रसारण गर्न वा गराउन नहुने।