२०८१ बैशाख १४, शुक्रबार

लहना साप्ताहिकको बहुपक्षीय प्रभाव

यंलाथ्व सप्तमी ११४२, भाद्र १८ शनिवाः | अमरध्वज लामा

भाषा कुनै कुराको सञ्चार गर्न सबैभन्दा प्रयोग हुने प्रभावकारी माध्यम हो । भाषा आयोगले दिएको २०७६÷७७ को प्रतिवेदन अनुसार नेपालमा १३१ भाषाहरू प्रयोगमा छन् । ती मातृभाषाहरु मध्ये ‘लहना’ साप्ताहिकले नेपाल भाषामा विगत १० वर्षदेखि सूचना, समाचार, विचार तथा दृष्टिकोण प्रवाह गर्दै आएको छ । लहनाको अर्थ ‘सभ्यता‘ हो ।
 
नेवार जातिको उत्पत्ति र बाहुल्यता रहेको काठमाण्डौं उपत्यकालाई खास लक्षित क्षेत्र मानेर लहना प्रकाशित हुँदै आएको छ । प्राथमिक पाठक बाहेक देश तथा विदेशमा छरिएर रहेका नेवाः समुदायलाई सूचनाले जोड्ने काम लहनाले गर्दै आएको छ । यसले नेवाः समुदायको भाषा, लिपी, संस्कृति र सामाजिक विषयवस्तुलाई मूल अन्तरवस्तु (कन्टेन्ट) को रुपमा समेट्दै आएको छ । राष्ट्रिय गरिमाको खोजीका लागि नेपालका जाती, समुदाय तिनका संस्कृति र परम्परागत ज्ञान–सिपलाई संरक्षण गर्नुपर्छ भन्ने मान्यताबाट लहनाको पत्रकारिता निर्देशित छ । यसकारण लहना पहिचान आन्दोलनको एउटा सशक्त आवाजका रुपमा पाठकहरूमाझ स्थापित पत्रिका हो ।  
 
विक्रम संवत १९८२ (नेपाल संवत १०४५) मा प्रकाशित ‘बुद्ध धर्म व नेपाल भाषा’ पहिलो मातृभाषाको पत्रिका हो । भारतको कोलकत्ताबाट बुद्ध जयन्तिकै दिन धर्मादित्य धर्माचार्यले सर्वप्रथम शुरु गर्नुभएको भातृभाषी पत्रकारिताको इतिहासमा अहिलेको ‘लहना’ अर्काे बेजोड निरन्तरता हो । एउटा राष्ट्रलाई त्यहाँको मातृभाषा संरक्षित हुनु किन आवश्यक छ भन्ने मर्म नबुझेको कारण मातृभाषा पत्रकारिता आरम्भ भएको करिब एक सताव्दीको इतिहासमा कैंयन पत्रपत्रिकाहरु बन्द भएका छन् । नेपाल भाषामै प्रकाशित भएका पत्रपत्रिकाको कुरा गर्ने हो भने विक्रम संवत २००९ मा प्रकाशित पाक्षिक ‘पासा’ वि.सं २०१२ सालमा प्रकाशित दैनिक पत्रिका ‘नेपाल भाषा’ र  विक्रम संवत २०१४ मा प्रकाशित अर्काे दैनिक पत्रिका ‘पासा’ अस्तित्वमा छैनन् । त्यसैगरी, साप्ताहिक ‘ज्यामी’ (२०१४), मासिक ‘झि’ (२०१४)  मा भारतको कालिङपोङबाट प्रकासित भएको मासिक ‘धर्माेदय’ (२०१६) ले निरन्तरता पाउन सकेन । एउटा सञ्चार माध्यम बन्द हुँदा सूचनाको निरन्तर उपभोग गर्ने समुदाय कसरी पछिपर्र्दै जान्छ भन्ने कुराप्रति राज्य संवेदनशील भएको देखिदैन, पहिले पनि र अहिले पनि । 
 
तर लहना परिवारले व्यावसायिक पत्रकारितासँगै अभियन्ताको भूमिका पनि सशक्त ढंगले निर्वाह गर्दै आएको देखिन्छ । मातृभाषा पत्रकारिताका आरम्भकर्ता धर्मादित्यलाई इतिहास पुरुषका रुपमा स्मरण गर्दै प्रत्येक वैशाख पूर्णिमाको अघिल्लो दिन राष्ट्रिय उत्सवका रुपमा मनाउने अभियानमा लहना साप्ताहिक निरन्तर सहभागी छ । त्यसैगरी, २०८२ सालमा मातृभाषाको पत्रकारिता शुरु भएको सय वर्ष पुरा हुने हुँदा आगामी २०८२ साललाई शताब्दी वर्ष घोषणा गर्न सरकारलाई दबाब दिन फोनिज, नेवाः पत्रकार राष्ट्रिय दबु र सरोकारवाला संघसंस्थासँग लहना प्रकासन समूहले ऐक्यवद्धता जनाउँदै आएको छ । लहनाले नेपाल भाषामा पत्रकारिता गर्ने, भाषा संस्कृतिको विकासमा योगदान पुराउने समुदायका व्यक्तिलाई पुरस्कार र सम्मान प्रदान गर्नु अर्काे चर्चायोग्य पक्ष हो । यी विभिन्न रचनात्मक कामहरुबाट लहना साप्ताहिक परिवारले पत्रकारिता बाहेक सामाजिक अभियन्ता र सामाजिक उत्तरदायित्वका रचनात्मका भूमिका समेत निर्वाह गर्दै सिंगो नेवार समुदायको आँखामा पर्ने काम गरेको छ ।   
 
राज्यको चरित्र बहुल खालको छैन, यो थाहा भएकै कुरा हो । एकल खस भाषामा सूचना सम्प्रेषण गर्दा सबैले बराबारी ग्रहण गर्दछन् भन्ने राज्यको एकात्मक सोच हो । ऊ खस नेपाली बोल्छ, त्यही लेख्छ । त्यही भाषामा देखाउँछ र त्यही भाषा प्रयोग गरेर सूचना लुकाउँछ । सूचना संकुचनको यस्तो निरंकुश परम्परामा मातृभाषामा पत्रकारिता गर्नेले समुदायले सहज बुझ्ने, सजिलै ग्रहण गर्ने र सजिलै प्रतिकृया दिन सक्ने भाषा शैली प्रयोग गर्दै आइरहेका छन् । विगत १० वर्षदेखि निरन्तर प्रकाशित हुँदै आएको लहना साप्ताहिकले त्यही सामाजिक सुबोधको अभ्यास गर्दै आएको छ । 
 
त्यसो त मातृभाषामा पत्रकारिता गर्नु पाठकको अपनत्वको विषयसँग मात्र सिमित छैन । भाषागत अपनत्वले पत्रकारले पस्कने सामग्रीमाथी विश्वास जगाउँछ । विश्वसनीयताले सूचना, विचार र सन्देशलाइ ग्राह्य वा स्वीकार्य बनाउँछ । कुनै विषयमाथी पाठकको स्वीकारोक्ति भनेको केही बुझेर पाठकहरु केही गर्न अग्रसर हुनु हो । त्यसकारण अडियन्सको ग्राह्यता बढाउन उनीहरुले बोल्ने र बुझ्ने भाषाको प्रयोग गर्नुपर्छ भन्ने संसारभरिकै पत्राकरिताको मान्यता हो । लहना साप्ताहिकले नेपाल भाषामा पत्रकारिता गरेर आम पाठकमाझ त्यही तार्किक आधार तयार गरिरहेको छ र आम समुदायलाई बोधगम्य बनाएको छ । त्यसकारण मातृभाषाको पत्रकारितालाई भाषाको संरक्षण बाहेक अन्य थुप्रै उद्धेश्यसँग गाँसेर हेर्नुपर्दछ । 
 
आज लहना साप्ताहिकले ४ सय अंक पुरागरिहँदा प्रकाशन तथा व्यवस्थापन पक्षले व्यहोर्नुपर्ने आर्थिक समस्या कस्तो छ भनेर यहाँ उल्लेख गरिरहन पर्दैन । यो विशुद्ध भाषा, संस्कृतिप्रति जागरुक व्यक्ति तथा समूहको पहलमा समुदायको सेवाप्रति समर्पित अभियान हो । तथापि, सञ्चार प्रविधिको विकाससँगै डिजिटल कन्टेन्ट उत्पादन गरेर भूगोलको कुना कुनासम्म पुराउन सक्नु लहना साप्ताहिकको अर्काे व्यवसायिक क्षमता हो ।  विशेषतः काठमाण्डौं उपत्यकाको नेवारी सभ्यता माथि निरन्तर प्रहार हुँदै आएको सन्दर्भमा यहाँको रैथाने विशेषता, प्राचिन कलाकृति, आदिवासी ज्ञान, कला तथा प्रविधिको प्रवद्र्धन र विकासमा नेपाल भाषामा प्रकासित हुने लहना र यस्तै खालका मातृभाषाी पत्रकारिताको निरन्तरता झन अपरिहार्य छ । 
 
पछिल्लो समय पहिचान आन्दोलनमा सशक्त रुपमा जोडिन आएको विषय हो परम्परागत सभ्यता, र मौलिक ज्ञान । यसका लागि मातृभाषामा सूचना संकलन, प्रशोधन र सम्प्रेषण गर्नु एउटा महत्वपूर्ण काम हुन आउँछ । राजनीतिक सत्ता राजनीतिक आन्दोलनबाट प्राप्त हुन्छ जो बर्षाै लाग्न पनि सक्छ । तर साँस्कृतिक सत्ता आदिवासी जनजातिले आफैं निर्माण गर्दै जान सकिने विषय हो । जुन अभिभारा पुरा गर्न भाषा लिपीमा पत्रकारिता हुनु, प्रथाजनित कानुनको अभ्यास थाल्नु, आदिवासी भाका, लय, गीत संगीत, गाउँखाने कथा, उखानहरुको संरक्षण हुनु, रैथाने उत्पादन र प्रविधिमा आधारित उद्योग व्यवसाय सञ्चालन हुनु जस्ता थुप्रै विषयहरु पर्दछन् । नेवार समुदायसँग सम्बन्धित यी मौलिक विषयवस्तु बारे जानकारी दिन वा व्याख्या गर्न अन्य भाषामा उपयुक्र्त शब्दहरु पाइँदैन । यदि रैथाने विषय वस्तुलाई शब्दको अभावमा शब्द पैंचो गर्न गर्न थाल्यौं भने त्यसको पहिचान मर्दैजान्छ । अतः नेवाः सभ्यता अन्तरगतका विशाल सामाजिक जीवनलाई सही अर्थ दिन र भावी पुस्तासम्म भाषा, संस्कृति र मौलिकतालाई पुस्तान्तरण गर्न नेपाल भाषामा लहनाको पत्रकारिता अटुट र अझ सशक्त हुनु जरुरी छ ।