२०८० चैत्र १६, शुक्रबार

आईओसीलाई निगमले १३ अर्ब रुपैयाँ तिर्यो

पोहेलागा अष्टमी ११४२, माघ ११ मंगलबाः

सञ्चित बचत शून्यमा झरेपछि अप्ठ्यारोमा पुगेको नेपाल आयल निगमले सरकारसँग पैसा मागेर इन्डियन आयल कर्पोरेसन (आइओसी) लाई १३ अर्ब बढी भुक्तानी गरेको छ ।

निगमले मूल्य स्थिरीकरण कोषबाट एक अर्ब ८० करोड लिएर जनवरी महिनाको दोस्रो किस्तावापतको रकम आइओसीलाई भुक्तानी गरेको प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिनुभयो ।

निगमले आज आइओसीलाई १३ अर्ब २० करोड पठाएको हो । सञ्चित बचत शून्यमा पुगेसँगै आइओसीलाई तिर्नुपर्नेमध्ये एक अर्ब ८० करोड अपुग भएपछि निगमले उक्त रकम उपलब्ध गराइदिन सरकारसँग आग्रह गरेको थियो ।

मूल्य स्थिरीकरण कोष सञ्चालक समितिको शुक्रबारको बैठकले आइओसीलाई तिर्न अपुग १ अर्ब ८० करोड निगमलाई उपलब्ध गराउने निर्णय गरेको थियो ।

कोष सञ्चालक समिति अध्यक्ष वाणिज्य तथा आपूर्ति सचिव रहने व्यवस्था छ । सरकारले पेट्रोलियम पदार्थको मूल्यमा स्थिरता कायम गर्न २०७१ मा ‘पेट्रोलियम पदार्थ तथा ग्यासको मूल्य स्थिरीकरण कोष (सञ्चालन) नियमावली’ जारी गरेको थियो ।

अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य लगातार उकालो लाग्दा घाटा पनि चुलिँदै गएको निगमले बताउँदै आएको छ ।

निगमले प्रत्येक अंग्रेजी महिनाको ८ र २३ तारिखमा आइओसीलाई पेट्रोलियम पदार्थ खरिद गरेबापतको रकम भुक्तानी गर्दै आएको छ ।