२०८१ बैशाख २०, बिहिबार

नारायणहिटी दरबार भित्रै रेस्टुरेन्ट बनाउने रोक

लहनान्युज | थिंलागा द्धितीया ११४२, पुष २० मंगलवाः

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको निर्देशनपछि नारायणहिटी दरबार संग्रहालयभित्रै रेस्टुरेन्ट बनाउने काम तत्कालका लागि रोकेको छ । नारायणहिटी दरबार संग्रहालय तथा गणतन्त्र स्मारक व्यवस्थापन तथा सञ्चालन समितिले बतास अर्गनाइजेसन अन्तरगतको बी म्यानेजमेन्ट प्रालिलाई पत्र लेख्दै तत्कालका लागि संरचना निर्माणको काम रोक्न निर्देशन दिएको हो ।
 
समितिका कार्यकारी निर्देशक भेषनारायण दाहालले मन्त्रालयले काम रोक्न निर्देशन दिएपछि कम्पनीलाई पत्र काटेर काम रोक्न भनिएको जानकारी दिए ।सस्तो भाडादरमा जग्गा हात पारेपछि दरबार संग्रहालय परिसर (गेटबाट पश्चिमपट्टी) भित्रै रेस्टुरेन्टका लागि गैरकानूनी ढंगले विभिन्न पक्की संरचना बनाउने र थप्ने काम भइरहेको छ । नारायणहिटी दरबार संग्रहालय तथा गणतन्त्र स्मारक व्यवस्थापन तथा सञ्चालन समितिले दरबारभित्र संरचना थप गर्न काठमाडौं महानगरपालिकासँग अनुमति लिएको छैन ।
रेस्टुरेन्टको भवन क्षेत्रको मात्रै टेन्डर गरेको समितिले अब थप क्षेत्र पनि प्रयोग गर्न अनुमति दिने गरी संरचना बनाउन दिएको छ । संरचनाहरूको नक्सा पास नै भएको छैन ।
 
करिब १० रोपनी क्षेत्र रेस्टुरेन्टले प्रयोग गर्न लागेको कम्पनीसँग  मासिक अढाइ लाख रुपैयाा लिने गरी सम्झौता भएको छ । खाली क्षेत्र उपयोग गर्न दिएर थप शुलक लिने दावी समितिको छ ।
 
त्यसअनुसार पनि नारायणहिटीको जग्गा प्रतिरोपनी मासिक ५० हजार रुपैयाँमा भाडामा लाग्ने अवस्था छ । खाली जग्गा र सटर नभेटिने दरबारमार्ग क्षेत्रमा यो भाडादर निकै सस्तो हो।