२०८१ बैशाख २२, शनिबार

हामीले वृद्धाश्रम निर्माण गर्ने सोच राखेनौँ, ज्येष्ठ नागरिक मनोरञ्जन केन्द्र बनाउनु हाम्रो नीति हो — मेयर शाक्य

लहनान्युज | थिंलागा द्धितीया ११४२, पुष २० मंगलवाः

काठमाडौँ महानगरका मेयर विद्यासुन्दर शाक्यले आज वडा ३१ को प्रयाग मार्गमा ज्येष्ठ नागरिक विश्राम चौतारी ९पार्क० उद्घाटन गर्नुभएकोछ । ६० लाख रुपैयाँ लागतमा निर्माण भएको पार्क करीव २ रोपनी क्षेत्रफलमा छ । उद्घाटन अवसरमा प्रदेश सभा सदस्य गणेश दुलाल, महानगरकी उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठसहित पदाधिकारी हुनुहुन्थ्यो । 
 
उद्घाटन अवसरमा बोल्दै मेयर शाक्यले, वृद्धाश्रमको साटो ज्येष्ठ नागरिक मनोरञ्जन केन्द्र स्थापना गर्ने नीति बनाएर आफूले काम गरिरहेको बताउनुभयो । ‘वृद्धाश्रमलाई प्रोत्साहन गर्नु भनेको परिवार अलग बनाउनु हो । बाआमालाई छोराछोरीले सम्मान नगर्ने अवस्था बनाउनु हो । हामी यस्तो चाहँदैनौँ ।’ मेयर शाक्यले भन्नुभयो, ‘हामी त ज्येष्ठ नागरिकको ज्ञान, सीप र अनुभव पुस्ताले सिक्ने वातावरण बनाउन चाहन्छौँ । पाको उमेर आफ्नै उमेरका व्यक्तिहरुसँग बसेर मीठा मसिना कुरा गर्ने अवसर निर्माण गर्न चाहन्छौँ । त्यसैले वृद्धाश्रमको साटो ज्येष्ठ नागरिक मनोरञ्जन केन्द्र स्थापना गर्ने नीति बनाएका हौँ । यहाँको पार्क उत्कृष्ट बनेको छ ।’
 
खाना खान केही ढिला भए फरक पर्दैन तर, शौच ढिला भयो भने स्वास्थ्य समस्या हुन्छ । त्यसैले सबै पार्कमा शौचालय बनाउनु पर्छ । सार्वजनिक शौचालय भएकोले यस पार्कलाई पूर्ण बनाएको छ । कार्यक्रममा मेयर शाक्यले धारणा राख्नुभएको थियो । 
 
वडा ३१ म सार्वजनिक जग्गाको भोगाधिकार लिएका र नविकरण नगरेका धेरै संघसंस्था छन् । यस विषयमा गम्भीर भएर काम गर्नुपर्छ । कार्यक्रममा प्रदेश सभा सदस्य गणेश दुलालले भन्नुभयो, ‘यी जग्गालाई सार्वजनिक उपयोगमा ल्याउन सबैको इमान्दार प्रयास चाहिन्छ । यस वडाको अर्को समस्या भनेको बागमती कोरिडोरमा रहेको सुकुम्बासी बस्ती व्यवस्थापन गर्नु हो । यस विषयमा कसैले पनि राजनीति नगरौँ । साझा मुद्दा बनाएर काम गरौँ । समस्याको समाधान निस्किन्छ ।’
 
कार्यक्रममा बोल्दै महानगरकी उपमेयर हरिप्रभा खड्गी श्रेष्ठले, जनताका सानासाना दुःख सुन्न सक्ने भएकोले तहगत सरकारहरुमा स्थानीय सरकार जनताको नजिक भएको धारणा राख्नुभयो । ‘जनताबाट प्राप्त भएको कर, जनताकै सुविधाका लागि खर्च गरेका छौँ । सहरी सेवा र सुविधा वितरणमा कुनै खालको समस्या नहोस् भन्ने कुरामा सचेत छौँ ।’ उपमेयर खड्गी श्रेष्ठले भन्नुभयो, ‘वडाले बनाएका योजनामा पैसा पुगेन भने केन्द्रबाट पठाउने प्रबन्ध मिलाउँछौँ ।’
पार्क निर्माण सम्पन्न भएको छ । पार्कमा बोटविरुवा छन् ।
 
सार्वजनिक शौचालय छ । यसको रेखदेख र व्यवस्थापन चुनौती हुन सक्छ । कार्यक्रममा वडाध्यक्ष नारायण भण्डारीले, समुदाय स्तरबाट सहयोगको अपेक्षा गर्नुभयो । यो पार्कलाई पाका व्यक्तिहरुको अनुभव आदान प्रदान गर्ने र उहाँहरुबाट नयाँ पुस्ताले कुरा सुन्ने ठाउँका रुपमा विकास गर्ने योजना छ । कार्यान्वयनमा सबैको साथ चाहिन्छ । वडाध्यक्ष भण्डारीले आग्रह गर्नुभयो । 
कार्यक्रममा न्यायिक समितिका समेत सदस्य रहनुभएका वडा सदस्य सरोज ढकालले पार्क निर्माण वडाका उपलब्धीमध्येको एक महत्वपूर्ण रहेको बताउनुभयो । यसैगरी अर्का वडा सदस्य रमेश सत्यालले, पार्कले सामाजिक अन्तरघुलनमा योगदान पुग्ने आशा व्यक्त गर्नुभयो । 
 
पार्क निर्माण गर्न गएको असार २५ गते कार्यादेश दिइएको थियो । आउँदो चैत ३० गते निर्माण अवधि दिइएकोमा निर्माण कम्पनी जेनिशादेवी कन्स्ट्रक्सनले मंसिर २७ गते निर्माण सम्पन्न गरेको थियो । 
 
कार्यक्रममा मेयर शाक्यले महानगरीय प्रहरी वृत्त तीनकुनेका प्रमुख प्रहरी नायव उपरीक्षक मीनबहादुर लामालाई प्रहरी पोष्टको साँचो हस्तान्तरण गर्नुभएको थियो । पार्कमा निर्माण गरिएको शौचालयको माथिल्लो तलाका २ वटा कोठा प्रहरीलाई दिइएको हो ।