२०८१ बैशाख १३, बिहिबार

हामीले जिम्मा नपाउँदा टेका अडिएका भौतिक संरचना व्यवस्थापन गर्न सकेनौँ —मेयर शाक्य

रसिया श्रेष्ठ | थिंलागा चतुर्दशी ११४२, माघ २ आईतवाः

१९९० माघ २ गते र त्यसपछिको भूकम्पमा परेर दिवंगतहरुको स्मृतिमा आज बिहान भूगोल पार्कमा स्मृति सभा आयोजना गरियो । कोविड संक्रमण बढिरहेको सन्दर्भलाई मध्यनजर गर्दै सभामा २५ जना विशिष्ट व्यक्तिहरुलाई आमन्त्रण गरिएको थियो । यसैअनुसार बस्ने कुर्सीको प्रबन्ध गरिएको थियो । सभामा महानगरका प्रमुख प्रशासकीय अधिकृत लोकनाथ पौडयाल, सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधिहरु, महानगरको कार्यपालिका सदस्यसहित अधिकारी सहभागी हुनुहुन्थ्यो । 
 
सभामा बोल्दै गृहमन्त्री बालकृष्ण खाँडले, विपद क्षति व्यवस्थापनका लागि संघ, प्रदेश र स्थानीय सरकार आफैँमा सशक्त र अन्तर सरकार र आन्तरिक समन्वयमा बलियो बनाउँदै लानु पर्ने बताउनुभयो । ‘नागरिक सचेतना र विपद व्यवस्थापन गर्ने कानुनी प्रबन्धबाट सम्भावित क्षति कम गराउन सकिन्छ । प्रकृति र प्राकृतिक संरचनामा मान्छेले दख्खल दिइरहेका छन् । त्यसैकारण कहिलेकाहीँ अप्रत्यासित जोखिम व्यहोर्नु पर्ने अवस्था छ ।’ मन्त्री खाँडले, भुकम्पीय क्षति कम गराउन सुरक्षित भवन निर्माण र कोविड १९ को संक्रमणबाट बच्न स्थानीय सरकारको महत्वपूर्ण भूमिका हुने बताउनुभयो । 
 
त्यस क्रममा बोल्दै काठमाडौं महानगरका मेयर विद्यासुन्दर शाक्यले, सम्भावित विपत पूर्व तयारीका लागि काठमाडौँ महानगरपालिकाले भवन निर्माण मापदण्ड कार्यान्वयनलाई कडाइ गरिएको बताउनुभयो । भूकम्पले भौतिक संरचनामा पु¥याएको क्षति व्यवस्थापन गर्न महानगरले पूर्ण क्षमतामा काम गर्न नपाएको सन्दर्भ उठाउँदै मेयर शाक्यले भन्नुभयो, ‘काठमाडौँमा अझै पनि टेकाका भरमा सांस्कृतिक संरचना अडिएका छन् । यी संरचना पुरातत्व विभाग र गुठी संस्थानको स्वामित्वमा छन् । महानगरको स्वामित्वमा भएका सबै भौतिक संरचना पुननिर्माण भएको वा निर्माणाधीन अवस्थामा छन् । टेका लगाएका भौतिक संरचना पुननिर्माण गर्न हामीलाई दिनोस्, हामीले अनुरोध गरेका हौँ । तर, जिम्मेवारी पाएनौँ ।’ 
 
स्मृति सभामा महानगरको विपद व्यवस्थापन समितिका संयोजक नीलकाजी शाक्यले, वडा स्तरीय विपद व्यवस्थापन समितिमार्फत टोल टोलमा भएका जोखिमको पहिचान गर्ने र सम्भावित विपत्तिका सामना गर्न क्षमता बढाउने काम भइरहेको उल्लेख गर्नुभयो । २०७२ सालको भूकम्पलको धक्काले सिकाएको पाठ विर्सियो भने भोलि क्षतिको परिमाण झन् बढ्न सक्छ । यसलाई कम गराउन महानगरले सुरक्षित बस्ती विकासको कार्यक्रमलाई जोड दिएको संयोजक शाक्यको भनाइ थियो । 
 
स्मृति सभामा फायर हवल्दार बद्रीप्रसाद अधिकारी, नगर प्रहरी हवल्दार विशेश्वर पण्डित, सशस्त्र प्रहरी सहायक हवल्दार उत्तमहरि श्रेष्ठलाई नगद १५ हजार रुपैयाँसहित सम्मान गरिएको थियो । विपद व्यवस्थापन विभागका प्रमुख रविनमान श्रेष्ठकाअनुसार, आगलागी नियन्त्रणका लागि उहाँहरुले पु¥याउनु भएको योगदानको कदर गर्दै सम्मान गरिएको हो ।  
 
१९९० साल माघ २ गतेको बिनाशकारी भूकम्पले पु¥याएको क्षति सम्झना गर्दै अबका पुस्ताले यस प्रकारको क्षति व्यहोर्नु नपरोस् भनेर सजग गराइ राख्न यो दिवस मनाउने गरिएको छ । यस प्रकारको सम्झनासँग विगतका गल्ती नदोहो¥याउने प्रतिवद्धता जोडिएको छ । त्यस बिनाशकारी भूकम्पले सिकाएको पाठबाट सुरक्षित बस्ती निर्माणमा पुस्तालाई सहभागी गराउने उद्देश्य राखेर २०५५ सालदेखि हरेक बर्ष माघ २ गते भूकम्प सुरक्षा दिवस मनाउन थालिएको हो । 
 
यस बर्ष ‘भूकम्पीय सचेतना, सुरक्षित संरचना’ नारासहित दिवसका कार्यक्रम मनाइँदैछन् । गएको बर्ष “बहु प्रकोपीय विपदमा भूकम्पीय सुरक्षा, साझा सहकार्यमा जनधनको रक्षा” नारा राखिएको थियो । 
 
यस बर्षको मुल समारोह स्वास्थ्य मापदण्ड अपनाएर ललितपुरको पाटन दरबार क्षेत्रमा आयोजना गर्ने तालिका छ । 
 
दमकल भवनको अवलोकन 
भूगोल पार्कको स्मृति सभापछि गृहमन्त्री खाँडलाई मेयर शाक्यले, जुद्ध बारुण यन्त्र कार्यालय भवनको निरीक्षण अवलोकन गराउनुभएको थियो । ‘दमकल भवन पुरानो र जीर्ण छ । मन्त्री खाँडलाई मेयर शाक्यले भवनको माथिल्लो र तल्लो तलामा अग्नि नियन्त्रक बस्ने कक्ष र खाना बनाउने कक्ष देखाउँदै भन्नुभयो, ‘अरुलाई बचाउन २४ सै घण्टा तैनाथमा रहने अग्नि नियन्त्रकहरुलाई भने असुरक्षित भवनमा राख्नु परेको छ । यसलाई पुननिर्माण गरेर व्यवस्थित बनाउन हामीले पुरातत्व विभागलगायत निकायलाई धेरै पटक अनुरोध ग¥यौँ । तर अहिलेसम्म काम गर्न पाइएन । भवनका कक्षहरु चर्किएर बस्न नमिल्ने अवस्थाका छन् । २०७२ सालको भूकम्पको कम्पनले जीर्ण बनेको भवन पुननिर्माण गर्न पाएनौँ । यसका लागि मन्त्रीज्यूले सहयोग गरिदिनु प¥यो । महानगरले यो भवन पुननिर्माण गर्ने योजना बनाएको छ । तर पुरातत्व बिभागको सहमति प्राप्त गर्न नसकेर योजना अड्किएको छ ।’
 
भवन अवलोकनका क्रममा दमकलहरुको पनि अवलोकन गरिएको थियो । काठमाडौं बारुण यन्त्र कार्यालय (जुद्ध बारुण यन्त्र कार्यालय) मा चालु अवस्थाका नयाँ दमकल, १९९४, २००१ र २०१५ सालका ३ वटा पुराना दमकल, २ वटा ल्याडर, १ वटा मिनी दमकल, एउटा हलुका र एउटा हेभी रेस्क्यु ट्रक, एउटा पानी ट््याङ्की र एउटा लाइट पोर्टेवल पम्पलगायत आगलागी नियन्त्रण तथा उद्धार कार्यमा प्रयोग हुने उपकरण तथा साधन छन् । महानगरले नयाँ सडकको बारुण यन्त्र सेवालाई विस्तार गरेर वडा ६ को रामहिटीबाट पनि सञ्चालन गरेको छ।