२०८१ बैशाख ७, शुक्रबार

ऐतिहासिक ठाउँ, संरचना र बस्तुको संरक्षणबाट काठमाडौँको इतिहास जीवन्त रहन्छ — मेयर शाक्य

शोभा श्रेष्ठ | पोहेलागा पारु ११४२, माघ ४ मंगलवाः

आजदेखि हारतीमाता (अजिमा द्यः) देवता घरको पुननिर्माण थालिएको छ। काठमाडौँ महानगरपालिका वडा नं. २५ श्रीघ विहार, शान्तिघट बज्रधातु चैत्य महाविहार परिसरमा रहेको मन्दिरको महानगरका मेयर विद्यासुन्दर शाक्यले शिलान्यास गरेर पुननिर्माणको काम शुरुवात गर्नुभएको हो । पुननिर्माणका लागि महानगरले १ करोड रुपैयाँ उपलब्ध गराउनेछ । यसमा शान्तिघट बज्रधातु चैत्य महाविहार संरक्षण समितिले उपभोक्ताकातर्फबाट ५ प्रतिशत रकम थप गरेर पुननिर्माण गर्नेछ।
 
शिलान्यासपछि संक्षिप्त प्रतिक्रिया दिँदै मेयर शाक्यले, काठमाडौँको इतिहासलाई जीवन्त बनाइराख्न प्राचीन स्मारकहरुको मर्मत, सम्भार, जीर्णोद्धार र पुननिर्माणलाई नीतिगत प्रबन्ध, बजेट र कार्यक्रमबाट काम गरिरहेको बताउनुभयो। ‘काठमाडौँ प्राचीन सांस्कृतिक र ऐतिहासिक सहर हो ।
 
यसको पहिचानलाई दिगो बनाइ राख्न, सहरमा भएका स्मारकहरुलाई यथावत राख्नुपर्छ । त्यसैले हामीले जीवन्त सांस्कृतिक सहरको पहिचान जोगाउन समुदाय, पुजारी र गुठीयारहरुसँग सहकार्य गरिरहेका छौँ। ’ हारती माता देवघर पुननिर्माणको सन्दर्भ उठाउँदै मेयर शाक्यले भन्नुभयो, ‘मन्दिरका काठहरु मक्काएका थिए । पर्खाल कमजोर भएको थियो । त्यसैले परम्परागत निर्माण सामग्रीको प्रयोग गरेर पूर्ववत स्वरुप र शैली हुने गरी उपभोक्ता, गुठीयार र पुजारीहरुसँगको सहकार्यमा पुननिर्माण थालेका हौँ।’
 
समितिका पदाधिकारीकाअनुसार मन्दिर करीब ३ सय बर्ष पुरानो हो । यसको पुननिर्माण आजभन्दा करीव १ सय ५६ बर्ष अघि एक पटक भएको अभिलेख पाइन्छ । १९९० सालको भूकम्पको धक्का व्यहारेको मन्दिरलाई २०७२ सालको भूकम्पले कमजोर बनाएको थियो।
 
शिलान्यास अवसरमा वडा २५ का अध्यक्ष एवं विपद व्यवस्थापन समितिका संयोजक नीलकाजी शाक्य, कार्यपालिका सदस्य रमिताकमल स्थापितसहित जनप्रतिनिधि र संरक्षण समितिका पदाधिकारी सहभागी हुनुहुन्थ्यो।