२०८१ बैशाख ११, मंगलबार

सीसीएमसीले स्थानीय सरकारसँग सहकार्य र समन्वय नगरेको मेयर शाक्यको गुनासो

शोभा श्रेष्ठ | पोहेलागा पारु ११४२, माघ ४ मंगलवाः

काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले कोभिड विरुद्धको साझा लडाईंमा लागि कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले स्थानीय सरकारसँग सहकार्य र समन्वय नगरेको गुनासो गरेका छन् ।
 
काठमाडौं महानगरपालिका वडा नम्बर २३ मा आयोजित कार्यक्रममा सम्बोधन गर्दै मेयर शाक्यले सीसीएमसीसँग यस्तो गुनासो गरेका हन् ।
 
मेयर शाक्यले त्यसबारे गृहमन्त्रीलाई समेत जानकारी गराएको स्मरण गराए । ‘मैले गृहमन्त्रीज्यूलाई संघीय सरकारले हामीलाई उपेक्षा गरेको हो कि भन्ने विषयमा जानकारी गराएको छु,’ मेयर शाक्यले भने, ‘स्थानीय सरकार जनताको घरदैलोको सरकार हो । संघीय सरकारले गरेका सबै निर्णय कार्यान्वयन गर्ने थलो भनेको स्थानीय सरकार हो । त्यसैले संघीय सरकारले हामीसँग समन्वय र सहकार्य गरेर अघि बढेको खण्डमा कोरोना रोकथाम र नियन्त्रणका लागि प्रभावकारी काम गरेर अघि बढ्न सकिन्छ ।’
 
‘पहिलो र दोस्रो चरणको कोरोना संक्रमणका बेला सीसीएमसीले कोभिड–१९ संकट व्यवस्थापनका हरेक निर्णयमा स्थानीय सरकारसँग सल्लाह र समन्वय गर्ने गरेको थियो,’ उपत्यका नगरपालिका फोरमका अध्यक्ष समेत रहेका मेयर शाक्यले भने, ‘अहिले काठमाडौं कोरोनाको हटस्पट बनेको छ । तर, सीसीएमसीले हामीसँग समन्वय गरेको छैन ।’
 
मेयर शाक्यले महानगरपालिकाले अघिल्लो पटक निःशुल्क आइसोलेसन र क्वारेन्टिनहरु सञ्चालन गरेको र यो पटक पनि आवश्यक परेको खण्डमा तयारी अवस्थामा रहेको बताए । ‘हामीले त्यसका लागि गृहमन्त्रीज्यू, विभिन्न अस्पताल र नेपाली सेनासँग छलफल गरेका छौँ,’ उनले भने ।
 
मेयर शाक्यले अगाडि भने, ‘अहिले मुख्य गरेर काठमाडौं उपत्यका ओमिक्रोनका रुपमा कोरोनाको तेस्रो लहरले बढी प्रभावित छ । घना बस्ती भएको ठाउँ भएका कारण यहाँका वासिन्दा स्वाभाविक रुपमा बढी प्रभावित छन् । सबैलाई सतर्क रहन पनि म अपील गर्छु ।’
 
मेयर शाक्यले प्रदेश, स्थानीय र केन्द्र सरकारले पटक–पटक सतर्क रहन अपील गरेपनि आम मानिसले भने कोरोना केही होइन भन्दै अलि बढी नै लापरवाही गरेको जस्तो देखिएको बताए