२०८० चैत्र १५, बिहिबार

पुननिर्माणपछि ‘लायकूसाः’ शुभारम्भ

रसिया श्रेष्ठ | पोहेलागा तृतीया ११४२, माघ ७ शुक्रवाः

संस्कार, संस्कृति, तथा सामाजिक र धार्मिक क्रियाकलापसँग जोडिएका काठमाडौँका पेशाहरु विस्थापन हुने अवस्थामा पुगेको काठमाडौँ महानगरका मेयर विद्यासुन्दर शाक्यले धारणा राख्नुभएको छ । महानगरको वडा २३ झोँछेमा रहेको ‘लाय्कूसाः’ को उद्घाटन गर्दै मेयर शाक्यले, बजारसँग विज्ञापन जोडिएपछि राम्रा उत्पादनको बजारीकरण संकटमा परेको बताउनुभयो । ‘सहरको मौलिकपन बचाउन परम्परागत चालचलन बचाउनु पर्छ । बढ्दो आधुनिकताका विच यो काम चुनौतीपूर्ण छ तर हाम्रा लागि आवश्यकता हो ।’ मेयर शाक्यले भन्नुभयो, ‘परिवर्तनलाई स्वीकार गर्दै मौलिकताको बचावट गर्नुलाई हामीले जिम्मेवारी ठानेका छौँ ।’
 
‘२०७२ सालको भूकम्पले क्षति भएका मूर्त अमूर्त सांस्कृतिक सम्पदालाई पुनस्र्थापना गर्नु र कोविडको महामारीबाट जनतालाई बचाउनु हाम्रा लागि मुख्य काम रहे ।’ सम्पन्न काम र आगामी योजनाका विषयमा कुरा गर्दै मेयर शाक्यले भन्नुभयो, ‘कोविडको तेस्रो लहरको प्रभाव व्यवस्थापन गर्न सीसीएमसीले पालिकाहरुसँग समन्वय बढाउनुपर्छ । विगतका समस्यामा हामीले आन्तरिक समन्वयबाट समस्या समाधान गरेका हौँ । पहिलेजस्तो आपसी छलफल अहिले कम छ ।’ उपत्यका नगरपालिका फोरमका अध्यक्ष समेत रहनुभएका शाक्यले भन्नुभयो, ‘कोविड रोकथाम, नियन्त्रणका लागि काम गरिरहेका छौँ । आइसोलेसन र उपचारका लागि विगतको महामारीमा प्रयोग गरेर संक्रमण घटेपछि निष्क्रिय बनाइएका संरचनालाई तयारी अवस्थामा राखेका छौँ ।’
 
त्यस अवसरमा बोल्दै उपमेयर हरिप्रभा खड्गी श्रेष्ठले, विदेशप्रतिको मोहले सांस्कृतिक पहिचानसँग जोडिएका पेशा विस्थापित हुने चरणमा पुग्न सक्ने खतराप्रति सजग हुनुपर्ने बताउनुभयो । ‘फल्चा अतिक्रमण परेपछि पाका मानिसहरु बसेर कुरा गर्ने वातावरण सकिन थाल्यो । ढुङ्गेधारा मासिएपछि पानीसँग जोडिएका सामाजिक सम्बन्ध व्यक्तिगत सम्बन्धमा रुपान्तरण भयो । काठमाडौँको जीवन्तता बचाउन यी पक्षहरु मासिन दिनु हुँदैन ।’ खड्गी श्रेष्ठले भन्नुभयो, ‘हिजोभन्दा आज पालिकालाई धेरै अधिकार छ । पालिकाका अधिकार वडामा पुगेका छन् । त्यसैले पहिलेभन्दा धेरै काम भएको छ तर अझै काम गर्नुपर्नेछ ।’
 
महानगरका भित्री वडाहरुको मुख्य काम भनेको मौलिकताको बचावट गर्नु नै हो । कार्यक्रममा वडा २३ का अध्यक्ष मचाराजा महर्जनले भन्नुभयो, ‘परम्परा, संस्कृति, भाषा, गुठीगहनाको संरक्षण हाम्रो जिम्मेवारी हो । यसका लागि हामी योजनावद्ध रुपमा काम गरिरहेका छौँ ।’
 
लायकुसाः गुठीका कोषाध्यक्ष श्यामकृष्ण मानन्धरले, परम्परागत चालचलन जोगाउन समुदायलाई काठमाडौँ महानगरले साथ दिए पछि गौरव महसुस भएको धारणा राख्नुभयो ।
 
यो ‘लाय्कूसाः’ ले जीवित देवी कुमारी, तलेजु भवानी र दरबारसँग सम्बन्ध राख्ने भएकोले अन्य साःहरू भन्दा धेरै महत्व रहेको पाइन्छ । नेपालभाषामा ‘लायकू’ को अर्थ दरवार हुन्छ । नामबाट पनि यो दरवारसँग सम्बन्धित भएको बुझिन्छ । श्री कुमारी घरलाई चाहिने तेल उत्पादन गर्न यो साः बनाइएको हो भन्ने गरिन्छ । त्यसैले यो साःलाई ‘कुमारी साः’ पनि भनिन्छ । तत्कालीन कुमारी घर, तलेजु भवानीको मन्दिरमा बालिने अखण्ड दीप र दरवारलाई समेत चाहिने तेल यहीँबाट पठाउने चलन थियो ।
 
काठमाडौंमा स्थानीय जनताको खपटका लागि तेल बनाउने काम काठमाडौं भित्रै गर्ने चलन अझै पनि छ । मध्यकालदेखि यो चलन शुरु भएको देखिन्छ । त्यस्तो तेल उत्पादन गर्ने कारखानालाई ‘साः’ अर्थात ‘साल’ वा ‘कोल’ भनिन्छ । त्यहाँ काम गर्ने जातीय समुदायलाई ‘सालमि’ वा ‘साय्मि’ भनिन्छ । ‘साय्मि’ लाई सम्बोधन गरिने अर्को शब्द ‘मानन्धर’ पनि हो । काठमाडौंको भित्री नगरमा यस्तो तेल उत्पादन गर्ने परम्परागत साःहरू नौ वटा रहेको पाइन्छ भने पछि यो संख्या बढ्दै गएको देखिन्छ । यी साःहरू जहाँ जहाँ छन् केही टोलको नाम समेत यही साःबाटै राख्ने गरिएको पाइन्छ । जस्तो न्हूसाः, दैसाः, फल्चासाः, लायकूसाःआदि।
 
अहिले आधुनिक विधिबाट तेल उत्पादन गर्ने चलन आएका कारण यहाँका परम्परागत साःहरू बन्द हुँदै गएका छन् । मध्यकालमा तेल उत्पादन पनि तत्कालीन नेपालको एउटा महत्वपूर्ण उद्योगका रुपमा स्थापित थियो।