२०८१ बैशाख १३, बिहिबार

ईक्याब नेपालको औपचारिक सुरुवात

लहनान्युज | पोहेलागा चतुर्थी ११४२, माघ ८ सनिवाः

ट्याक्सी सेवाको क्षेत्रमा नयाँ प्रविधि भित्र्याउँदै ईक्याब नेपालले आजबाट आफ्नो सेवाको शुभारम्भ गरेको छ । 
 
गैरआवासीय नेपाली संघ (एनआरएनए)का संस्थापक अध्यक्ष डा. उपेन्द्र महतोको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा मन्तव्य राख्नुहुँदै डा. महतोले नेपाल सम्भावनाहरु बोकेको देश भएको बताउनु भयो । उहाँले नेपालमा राम्रो गर्न चाहने कसैको पनि नराम्रो नभएको भन्दै असल नियतले अगाडि बढ्नेहरु सफल भएको आफूले देखेको बताउनुभयो । 
 
कुनै पनि क्षेत्रको सफलताको लागि सुरुवात नै आधा सफलता हो भन्नुहुँदै उहाँले आगामी दिनमा ईक्याब नेपाल कसरी अगाडि बढ्छ त्यसले नै यसको सफलताको मानक तयार गर्ने विचार राख्नुभयो । उहाँले गैरआवासीय नेपालीहरुले नेपालमा लगानी गर्दा डलरमा हिसाब गर्ने बानीले पनि समस्या हुने विचार राख्नु हुँदै नेपालमा लगानी गर्दा नेपाली रुपैयाँमा नै विचार गर्नुपर्नेमा पनि जोड दिनु भयो । 
 
यसैगरी कार्यक्रमका अर्का अतिथि नेपाल एशोसिएसन अफ टूर एण्ड ट्राभलका अध्यक्ष अच्यूत गुरागाइँले नेपालमा पर्यटन क्षेत्रमा क्याब सेवाको अत्यन्त आवश्यकता रहेको औंल्याउँदै पानीमा रुझेर ट्याक्सी कुर्नुपर्ने र ट्याक्सीमा चढीसकेपछि चालकले बार्गेनिङ गर्ने जस्ता समस्याको समाधान यसले गर्छ भन्ने आफूले विश्वास लिएको बताउँदै ईक्याबले कसरी सेवा प्रदान गर्ने हो भन्ने विषयमा प्रश्न गर्नुभयो । 
 
यसैगरी एनआरएनएका पूर्व उपाध्यक्ष कुल आचार्यले गैर आवासीय नेपालीले भन्ने गरेको ज्ञान, पूँजी र शीप भित्र्याउने लक्ष्यका साथ सुरु गरेको यो कार्यको सफलताको कामना गर्नुभयो । उहाँले पर्यटकलाई पहिलो प्रभाव पर्ने भनेको यहाँको एयरपोर्टबाट बाहिरिँदा हुने व्यवहारले नै हो भन्नुहुँदै यसको सुधारका लागि पनि ईक्याब नेपालले सफलता प्राप्त गरोस् भन्ने शुभेच्छा व्यक्त गर्नुभयो ।
 
यस्तै अर्का अतिथि जीवा लामिछानेले ट्याक्सी सेवा अगाडि पनि सञ्चालनमा आइसकेको भए पनि ती सेवा अन्तिम समयमा आएर क्यान्सिल गर्ने समस्या पनि रहेको जिकिर गर्दै यस्तो समस्याको पनि ईक्याबले सम्बोधन गर्नेमा विश्वास व्यक्त गर्नुभयो । 
 
खेतान ग्रूपका अध्यक्ष राजेन्द्र खेतानले गैरआवासीय नेपालीहरुले नेपाली भूमिमा गरेको लगानीको सराहना गर्नुहुँदै स्वागत गर्नुभयो । उहाँले आफ्नो क्षेत्रबाट पनि यो व्यवसायका लागि सक्दो सहयोग गर्ने बचन दिनु भयो । 
 
कार्यक्रममा ब्रिटिश नेपाल चेम्बर अफ कमर्शका डा. कपिल रिजाल, बद्री केसी लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो । 
 
ईक्याब नेपालका अध्यक्ष दीपक श्रेष्ठको सभापतित्वमा सञ्चालित कार्यक्रममा सन्तोषले ईक्याब नेपालको विशेषता तथा सेवा सुविधाहरुको बारेमा जानकारी दिँदै स्वागत गरेका थिए ।  
 
ईक्याबको टीममा सन्तोष मण्डल, रोवर्ट विश्वकर्मा, सबिन महर्जन, सजनी लामा, विकेश प्रधान, आलोक पाण्डे, जीवन सेन, हरि आचार्य, आदर भण्डारी रहेका छन् । औपचारिक कार्यक्रमको सञ्चालन ओसिन सितौलाले गरेका थिए ।