२०८१ बैशाख १५, शनिबार

चावहिल र मित्रपार्कमा आकाशेपुलका शिलान्यास

रसिया श्रेष्ठ | पोहेलागा पंचमी ११४२, माघ ९ आईतवाः

काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले दुईओटा आकाशेपुलको एकै पटक शिलान्यास गरे । काठमाडौं महानगरपालिकाले चावहिल चोक र मित्रपार्कमा सार्न मिल्ने खालका आकाशे पुलको निर्माण थालेको छ । काठमाडौं महानगरपालिका वडा–७ को चावहिलचोक र मित्रपार्कमा यस्ता दुई ओटा पुलको प्रमुख शाक्यले एकै पटक शिलान्यास गरे ।
 
‘काठमाडौँ महानगरपालिका क्षेत्रभित्र ट्राफिक जामको समस्या धेरै छ । अझ चाबहिल चोकका बाटो फराकिलो भए पनि अत्याधिक जाम हुने ठाउँ हो,’ उनले भने, ‘स्थानीयको माग अनुसार चावहिल चोकमा यस अघि पनि आकाशे पुल निर्माण सम्पन्न भएको छ । त्यो पुल निर्माणपछि अहिले फेरि चक्रपथ ओरोलोतिर थप एउटा पुलको माग भएपछि महानगरपालिकाले आज यो पुलको शिलान्यास गरेको हो ।’
 
उनले आजै मित्रपार्कमा पनि अर्को पुलको शिलान्यास गरेको जानकारी दिए । ‘चावहिल चोकमा मात्रै हामीले एउटा निर्माण सम्पन्न गरिसक्यौँ, थप एउटाको आज शिलान्यास ग¥यौं । मित्रपार्कमा पनि आजै एउटा आकाशेपुलको शिलान्यास गरेका छौँ,’ उनले भने, ‘जयवागेश्वरीको पुलको काम पनि अघि बढेको छ । यसरी हेर्दा यो क्षेत्रमा मात्रै हामीले चारओटा पुल निर्माण गर्दैछौं ।’
 
उनले सडक दुर्घटना कम गर्न र पैदलयात्रीलाई आवतजावतमा सहज हुने भएकाले बढी भिडभाड र दुर्घटना हुने स्थानमा पुल निर्माणको अभियान चलाएको जानकारी दिए । अन्य ठाउँका लागि पनि हामीले ड्रोइङ–डिजाइनको काम गरिरहेको उनले बताए ।
चावहिल चोकमा ३३ मिटर लम्बाइ र २ मिटर चौडाइ अनि मित्रपार्कमा १६ मिटर लम्बाइ र २ मिटर चौडाइका दुई ओटा पुलको शिलान्यास गर्दै प्रमुख शाक्यले महानगरपालिका क्षेत्रभित्र भिडभाड र दुर्घटना बढी हुने स्थानहरुमा आकाशे पुल निर्माणको अभियानलाई अघि बढाएको जानकारी दिए ।
 
केही ठाउँमा प्राविधिक समस्याका कारण कठिनाइ भएको बताए ।  वडा–७ का अध्यक्ष शुद्ध डंगोलले चावहिल चोक जतिखेर पनि जाम भैरहने र भिडभाड पनि बढी हुने भएकाले यो स्थानमा आकाशेपुल निर्माण गरेको जानकारी दिए ।
 
उनले पनि पुल निर्माणसँगै सडक दुर्घटना कम गर्न र पैदलयात्रीलाई आवतजावतमा सहज हुने अपेक्षा लिएको बताए ।
 
काठमाडौं महानगरपालिका भौतिक पूर्वाधार विभागका प्रमुख राम थापाले ट्राफिक व्यवस्थापनका लागि काठमाडौं महानगरपालिकाले सडक विभागको समेत समन्वयमा आकाशेपुल निर्माणको अभियान अघि बढाएको जानकारी दिए ।
 
‘पछिल्लो समय ट्रष्ट र स्टिल संरचनाका आकाशेपुल निर्माणमा जोड दिएका छौं,’ उनले भने, ‘आवश्यकता अनुसार कुनै पनि तोडफोड नगरी अन्य ठाउँमा पुनः प्रयोग गर्न मिल्ने भएकाले पछिल्लो समय यस्ता पुल निर्माणमा हामीले जोड दिएका छौँ ।’
 
उनले अहिलेसम्म यस्ता तीन ओटा निर्माण भइसकेको र एउटा अन्तिम चरणमा रहेको जानकारी दिए ।  यो वर्ष थप तीन ओटा पुल निर्माण गर्ने तयारी रहेको पनि जानकारी दिए ।
 
‘हामीले सरकारी जग्गा भएको र फुटपाथ पनि भएको ठाउँ छनोट गरी बढी भिडभाड हुने स्थानमा थप पुल निर्माण गर्ने कार्यक्रम छ,’ उनले भने,’ ‘अहिले चावहिल र मित्रपार्कमा बन्न लागेका दुई पुलको लागत भ्याटसहित १ करोड ३० लाख ४२ हजार रहेको छ ।’
 
काठमाडौं महानगरपालिकाका इञ्जिनियर प्रेमकुमार श्रेष्ठले अहिलेसम्म माइतीघर चोक, चावहिल चोक र डल्लुमा यस्ताखाले पुल निर्माण भएको भन्दै आज चावहिल चोक र मित्रपार्कमा शिलान्यास भएको जानकारी दिए । उनले जयबागेश्वरी र विजयश्वरीमा पनि निर्माण प्रक्रिया अघि बढेको जानकारी दिए ।