२०८१ बैशाख ११, मंगलबार

सहिद गंगालाल श्रेष्ठ र दशरथ चन्दको शालिकमा पुष्पगुच्छा अर्पण

रसिया श्रेष्ठ | पोहेलागा द्धादशी ११४२, माघ १५ सनिवाः

आज सहिद गंगालाल श्रेष्ठ र दशरथ चन्दको शालिकमा पुष्पगुच्छा अर्पण गरिएको छ । सप्ताहव्यापी कार्यक्रमको तेस्रो दिन काठमाडौंको पश्चिम बिष्णुमती नदीको किनार शोभा भगवतीमा स्थापित सहिदहरुको शालिकमा मुल समारोह समितिका संयोजक एवं महानगरका मेयर विद्यासुन्दर शाक्यसहित पदाधिकारीले पुष्पगुच्छा चढाउनुभएको हो । त्यस अवसरमा उपमेयर हरिप्रभा खड्गी श्रेष्ठ, प्रमुख प्रशासकीय अधिकृत लोकनाथ पौड्याल, प्रवक्ता एवं वडा १५ का अध्यक्ष ईश्वरमान डंगोलसहित पदाधिकारीले हुनुहुन्थ्यो । 
 
नेपाल राष्ट्रको स्वाधिनता र नेपाली जनताको स्वतन्त्रताका लागि १ सय ४ वर्षको हुकुमी शासन र त्यसका शासकलाई चुनौती दिदैँ उहाँहरुले मृत्यु स्वीकार गर्नुभएको थियो । कोविड संक्रमणका कारण यस बर्ष श्रद्धाञ्जली सभा गरिएको छैन । 
 
यस बर्ष माघ १० अर्थात पहिलो दिन शुक्रराज शास्त्रीले सहादत प्राप्त गरेको स्थान, टेकु मचलीमा, दोस्रो दिन १३ गते धर्मभक्त माथेमालाई मृत्युदण्ड दिएको स्थान सिफलमा स्थापना गरिएको शालिकमा पुष्पगुच्छा अर्पण गरिएको थियो । 
 
श्रेष्ठ र चन्दलाई ज्यानदण्ड दिइएको स्थानमा स्तम्भ, अर्धकदको शालिक र पूर्ण कदका शालिक राखिएका छन् । तत्कालीन काठमाडौं नगर पञ्चायतले २०३६ साल माघ १५ गते शिलान्यास गरेर २०३७ साल माघ १७ गते अनावरण गरेको हो । त्यस्तै चिँकमुगल बस्ने प्रचण्डलाल श्रेष्ठले २०५८ साल माघ १५ गते सप्ताह लगाएर प्राण प्रतिष्ठा गरी अर्धकदका शकालिक स्थापना गराउनुभएको हो । महानगरले २०७६ सालमा दुवै सहिदको पूर्ण कदका शालिक निर्माण गरेको हो । 
 
हुकुमी शासनको विरुद्धमा काम गरेको र जनतालाई प्रजातन्त्रकालागि उक्साएको आरोपमा १९९७  साल माघ १५ गते दशरथ चन्द र गंगालाल श्रेष्ठलाई विष्णुमती नदी किनारा शोभा भगवती क्षेत्रमा मृत्युदण्ड दिइएको थियो । त्यसबखत्, एकअर्काले देख्ने गरेर गोली हानेर कायल गराउन खोजिएको थियो । ज्यानको माया गरेर कायल हुनुभन्दा प्रजातन्त्रकालागि गोली खान तयार भएका उहाँहरुलाई पहिले घुँडाभन्दा तल गोली हानिएको थियो ।  त्यति गर्दा पनि कायल नभएपछि पछि ज्यान जाने गरी गोली ठोकिएको थियो । 
 
बैतडीमा जन्मिनुभएका दशरथ चन्दले महात्मा गान्धीले भारतमा शुरु गरेको सत्याग्रहमा पनि सक्रियतापूर्वक भाग लिनुभएको थियो । त्यस्तै रामेछापको भंगेरीमा जन्मिनुभएका गंगालाल श्रेष्ठ त्रिचन्द्र कलेज पढ्दै गर्दा राणा शासन विरोधी आन्दोलनमा लाग्नुभएको थियो । 
 
सहिद दिवसको अन्तिम दिन भोलि बिहान ०९ बजे सहिद स्मारक लैनचौर स्मृति कार्यक्रम हुनेछ । 
 
कार्यक्रममा प्रधानमन्त्रीसहित, सीमित उच्च विशिष्ठ व्यक्तिहरुको उपस्थितिमा ज्ञात अज्ञात सहितको स्मरणमा मौन धारण हुनेछ । त्यस क्रममा नेपाली सेनाको सानो टुकडीले नेपाली सम्मान गारत चढाउनेछ । भोलि मध्यान्न १२ बजे टुँडिखेलमा सेनाले सहिदको सम्मानमा तोप सलामी अर्पण गर्नेछ ।