२०८० चैत्र १६, शुक्रबार

९ वटा चैत्यको विधिवत् प्रतिस्थापन भयो अब केही दिनमा कमलपोखरीको उद्घाटन गर्छौः मेयर शाक्य

सिल्लाथ्व अष्टमी ११४२, माघ २६ बुधवाः

काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले कमलपोखरी पुर्ननिर्माणको काम करीब–करीब सम्पन्न भएको भन्दै अब छिट्टै उद्घाटन गर्ने  जानकारी दिनुभएको छ।
 
पुर्ननिर्माणको अन्तिम चरणमा रहेको कमलपोखरी सौन्दर्यकरण योजना अनुरुप ९ वटा चैत्यको आज विधिवतरुपमा प्रतिस्थापन गर्दै प्रमुख शाक्यले यस्तो बताउनुभएको हो । ‘काठमाडौँ महानगरपालिकाले प्रदुषित अवस्थामा रहेको कमलपोखरीलाई व्यवस्थित गर्दै पर्यटनमैत्री पोखरीका रुपमा विकास गरेको छ,’ प्रमुख शाक्यले भन्नुभयो, ‘ ठेकेदारले १५ दिन भित्र पहिलो चरणको काम सम्पन्न गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । त्यो लगत्तै हामी पोखरीको उद्घाटन गर्छौँ ।’ पोखरी उद्घाटनसँगै बिहान र साँझपख स्वस्थ्य हावा र हरियालीको मनोरञ्जन लिदैँ घुमफिर गर्ने उपयुक्त स्थानका रुपमा यो पोखरीलाई विकास हुने उहाँले बताउनुभयो ।  
 
उहाँले पोखरी पूर्ननिमार्णणको काम एक वर्ष अघि नै सम्पन्न हुनुपर्ने भए पनि कोभिडका कारण केही ढिलासुस्ती भएको बताउनुभयो । ‘ठेकेदारको पनि कोभिडको कारण देखाएर ढिला–सुस्ती गर्दा काम समयमा सम्पन्न गर्न केही कठिनाई भयो,’ उहाँले भन्नुभयो, ‘निर्माण कार्यको अन्तिम चरणमा रहेको कमलपोखरी सौन्दर्यकरण योजना अनुरुप पोखरीको किनारमा ९ वटा चैत्यको प्राणप्रतिस्थापन गर्ने कार्य आज सम्पन्न भयो । पहिलो चरणको काम ठेकेदारले १५ दिन भित्र सम्पन्न गर्छौ भनेका छन् । हामी पहिलो चरणको काम सम्पन्न हुने वित्तिकै कमलपोखरीको उद्घाटन गर्ने छौँ र दास्रो चरणको काम सँगसँगै सुरुवात गछौ ।’
 
उहाँले चैत्यसँगै यहाँको सास्कृतिक सम्पदाको संरक्षण र मौलिकता कायम गर्दै कमलपोखरी वरीपरी वृक्षारोपन गर्ने तयारी भएको पनि जनकारी दिनुभयो । ‘यहाँका मठ–मन्दिरको संरक्षण गर्दै यो पोखरीमा ठमेल, हनुमानढोका, स्वयम्भू घुम्न आउँने पर्यटकलाई समेत आर्कषित गराउने उदेश्यका साथ पोखरी पुर्ननिर्माणको काम अघि बढाएका छौँ,’ उहाँले भन्नुभयो, ‘छिटै कमलपोखरीको उद्घाटन गरी यहाँको सम्पदालाई पर्यटनसँग जोड्छौँ ।’
 
एकातिर पानी अर्कोतिर हरियाली हेर्दै सबैले आनन्द लिने र ऐतिहासिक पर्यटकीय स्थलका रुपमा चिनाउने योजनासहित यो पोखरीको पुर्ननिर्माण अघि बढाएको उहाँको भनाई छ । ‘पहिला बेबारिसेर र फोहोर जमेको पाखेरीलाई परम्परागत, सांस्कृतिक  र पर्यकटीय रुपमा विकास गर्ने अभियानलाई अघि बढाएका हाँैँ,’ शाक्यले भन्नुभयो, ‘वर्षौदेखि बेवारिसे अवस्थामा रहेको कमलपोखरीलाई गुरुयोजना बनाएर पुर्ननिर्माण गर्दै पुर्नजिवन दिने काम गरेका छौँ ।’
 
उहाँले कमलपोखरीको पुर्ननिर्माणको काम संघीय, प्रदेश माननीय, स्थानीय जनप्रतिनिधि, विज्ञ र स्थानीय व्यक्तिहरुसँग पनि लामो छलफल र परामर्श गरी काम अघि बढाएको  स्मरण गराउनुभयो । उहाँले काठमाडौँ महानगरपालिकाले कमल पोखरी वरीपरी चिल्ड्रेन पार्क, ढुंगेधारा, अपाङ्गमैत्री शौचालय, जिम हल, उधान र सार्वजनिक स्थलसहितको डिजाइन तयार पारेको र त्यहि अनुरुप काम अघि बढेको पनि बताउनुभयो ।
 
काठमाडौँ महानगरपालिकाकी उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठले स्वच्छ वातावरणसहितको फराकिलो कमलपोखरीमा आइपुग्दा आफुलाई आनन्द महशुस भएको भन्दै जति सक्दो छिटो पोखरी उद्घाटनको तयारीमा रहेको जानकारी दिनुभयो । ‘यो ऐतिहासिक कमलपोखरी हो,’ उहाँले भन्नुभयो, ‘यो पोखरीलाई पहिलाको भन्दा पनि व्यवस्थित बनाउँदै यो अवस्थासम्म ल्याउन यहाँका बासिन्दा र सबैको ठूलो सहयोग प्राप्त भएको छ । मेरो घर कमलपोखरीबाट नजिकै छ । बिहान–बेलुका स्वच्छ हावा लिदैँ हरियालीको आनन्द लिनका लागि यो उपयुक्त ठाउँ हुने भयो ।’
 
प्रमुख प्रशासकीय अधिकृत लोकनाथ पौड्यालले करीब २३ रोपनी क्षेत्रफलमा पुर्ननिर्माण भैरहेको कमलपोखरी सहरी सौदर्य अभिवृद्धिका लागि उपयुक्त हुने बताउनुभयो । ‘यो पोखरी वास्तुकलालाई आधार मानेर पुर्ननिर्माण भैरहेको छ,’ उहाँले भन्नुभयो, ‘काठमाडौँको संकृति र देशकै प्रतिनिधिमुलुक पर्वको रुपमा मानिदैँ आएको छठ पर्वका लागि समेत उपयुक्त हुने गरी यो पोखरी पुर्ननिर्माण गरेका हौँ ।’ उहाँले छठ वाहेक पनि हरियालीको मनोरञ्जन दिदैँ घुमिफिर गर्न र आकर्षक सहरी सौदर्यका रुपमा यो पोखरी उपयुक्त हुनेमा आशावादी रहेको बताउनुभयो ।  
 
काठमाडौँ महानगरपालिकाका सहरी योजना आयोगका उपाध्यक्ष सरोज बस्नेते कमलपोखरीमा चार ओटा कुनामा आकर्षक र संस्कृति झल्किने चार ओटा मण्डप र पूर्वतिर मुलढोकासँगै एउटा गरी पाँच ओटा मण्डप रहने जानकारी दिनुभयो ।
करीब ६ करोड ३६ लाखको लगानीमा निर्माण भैरहेको उक्त पोखरी बास्तुशास्त्रमा आधारीत भएर निर्माण भैरहेको पनि पनि बस्नेतले जानकारी दिनुभयो ।
 
उहाँले परम्परागत नेवारी शैलीलाई आत्मसाथ गर्दै पोखरी पुर्ननिर्माण गरेको पनि जानकारी दिनुभयो । ‘पोखरी छिर्ने गेटलाई नेपाली स्वरुप दिइएको छ,’ बस्नेतले भन्नुभयो, ‘पोखरी निर्माणमा नेपाली इट्टा र दर्शन ढुंगा प्रयोग गरिएको छ । पोखरी आसपासमा नेपालीपना झल्काउन झिँगटीका छानाको व्यवस्था गरेका छौँ । त्यसैगरी  विभिन्न ठाउँमा चैत्य र पाँचओटा मकरधार रहने छन् ।’ उहाँले पोखरी पुर्ननिर्माण गर्दा पानीको पर्याप्तता र गुणस्तरलाई ध्यान दिएको जानकारी दिनुभयो ।
 
काठमाडौँ महानगरपालिका सहरी पूर्वाधार विभागका प्रमुख राम थापाले काठमाडौँ महानगरपालिका रहेको यो पोखरी हेर्न, वस्न र केही समय मनोरञ्जनसहित व्यथित गर्न लायक हुने ढाँचासहित पुर्ननिर्माण गरिरहेको जानकारी दिनुभयो । ‘सबै भन्दा ठूलो कुरा त पोखरीलाई पुर्नजिवित गर्ने काम भएको छ,’ उहाँले भन्नुभयो, ‘हिलो, ढल र घाँसले भरियो यो पोखरी अहिले अनुपम सौदर्यले भरिपूर्ण देखिएको छ र पोखरीले आफ्नो स्वरुप प्राप्त गरेको छ ।’ उहाँले काठमाडौँको मौलिक संस्कृतिलाई प्राथमिकतामा राखेर घाट निर्माण गर्ने जस्ता कार्य गरेको पनि जानकारी दिनुभयो । उहाँले छठमैत्री पोखरीका रुपका समेत विकास गरेको जानकारी दिनुभयो ।