२०८१ बैशाख १३, बिहिबार

जीवनराम श्रेष्ठबात सुटिङ प्रशिक्षण हलको उद्घाटन

लहनान्युज | सिल्लागा पंचमी ११४२, फागुन ९ सोमवाः

सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसर हातामा नेपाल सुटिङ संघले सुटिङ खेलाडीका लागि बनाएको प्रशिक्षण हलको आइतबार उद्घाटन गरिएको छ । संघीय सांसद एवं नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले एक कार्यक्रमबीच हलको उद्घाटन गरे ।
 
नयाँ र राष्ट्रिय खेलाडीका साथै पारा खेलाडीको नियमित प्रशिक्षणका लागि हल निर्माण गरिएको सुटिङ संघले जनाएको छ । प्रशिक्षण हलकै माथि रहेको पहिलाको १० मिटर सुटिङ रेन्जमा अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुने खेलाडीको बन्द प्रशिक्षण र प्रतियोगिताका लागि प्रयोग गरिने भएको छ । हल पहिलेदेखि त्यहाँ भएपनि प्रशिक्षणको आन्तरिक व्यवस्थापन सुटिङ संघले गरेको हो । त्यसका लागि करिब ५० लाख रुपैयाँ खर्चको सुटिङ संघका अध्यक्ष पुष्पदास श्रेष्ठले जनाएका छन् ।
 
सोही अवसरमा सुटिङ संघको पहलमा एसियाली सुटिङ महासंघबाट प्राप्त खेल सामाग्री पनि हस्तान्तरण गरिएको थियो । सुटिङ महासंघबाट प्राप्त ३–३ थान राइफल र पेस्तोल तथा ‘स्पेयर पार्ट्स’ सुटिङ संघलाई हस्तान्तरण गरियो । अध्यक्ष श्रेष्ठकी माता यमुनादेवी श्रेष्ठले पनि १५ हजार थान जर्मनी गोली उपहार स्वरुप सुटिङ संघलाई प्रदान गरिन् ।
 
त्यसै अवसरमा प्रशिक्षण हलको निर्माण कार्यमा सहयोग गर्ने त्रिलोचन श्रेष्ठ, प्रदीप खाती, राजेशबहादुर श्रेष्ठ, ध्रुवविक्रम शाह, उपेन्द्र थापा र श्यामकृष्ण महर्जनलाई सम्मान गरिएको थियो । उनीहरुलाई युवा तथा खेलकुद मन्त्रालयका सचिव डा. दामोदर रेग्मीले प्रशंसा पत्र र मायाको चिनो प्रदान गरे ।
 
कुमार दर्शन मेमोरियल फाउन्डेसनले पारा खेलाडीको सहजताका लागि ३ थान डिलक्स ह्व्लि चेयर सहयोग स्वरुप प्रदान गरेको छ । फाउन्डेसनका अध्यक्ष राजु दर्शनले उक्त सामाग्री अध्यक्ष श्रेष्ठलाई प्रदान गरे  सुटिङ संघका अध्यक्ष श्रेष्ठले संघले नेपाल, भारत र भुटान सम्मिलित राष्ट्रको मैत्रीपूर्ण प्रतियोगिता गर्ने तयारी गरिरहेको बताउदै खेल सामाग्री उपलब्ध गराएकोमा एसियाली महासंघलाई धन्यवाद दिए ।