२०८१ बैशाख १४, शुक्रबार

कीर्तिपुर अस्पतालमा बालमैत्री चिकित्सा कक्ष सञ्चालन

लहनान्युज | सिल्लागा षष्ठी ११४२, फागुन १० मंगलवाः

कीर्तिपुर अस्पतालमा बाल चिकित्सा कक्ष (पेडियात्रिक वार्ड) सञ्चालनमा आएको छ।

उक्त वार्डको गत सोमबार नेपालका लागि जर्मनीका राजदूत डा. थमस प्रिन्ज र कीर्तिपुर नगरपालिकाका प्रमुख रमेश महर्जनले उद्घाटन गर्नुभएको थियो ।सन् २००६ देखि १५ शैयाबाट प्रसुती सेवालाई विशेष प्राथमिकताका साथ सञ्चालमा आएको कीर्तिपुर अस्पतालमा बाल चिकित्सा विभाग पहिले देखि भए पनि नेपाल मेड इभी जर्मनको सहयोगमा बाल चिकित्सा कक्ष निर्माण भै सञ्चालनमा आएको हो ।

नेपाल मेड इभी जर्मनले पहिलेदेखि नै कीर्तिपुर अस्पतालमा आवश्यक सहयोगहरू गर्दै आइरहेको छ ।वार्डको उद्घाटन गर्नुहुँदै जर्मनीका राजदूत प्रिन्जले जर्मन सरकारले विकास सहयोग अन्तर्गत नेपालमा लामो समयदेखि उर्जा क्षेत्र, स्थानीय सरकारको सबलीकरण तथा स्वास्थ्य क्षेत्रमा सहयोग गर्दै आइरहेको बताउनुहुँदै बाल चिकित्सालाई सर्व सुलभ बनाउन आवश्यक रहेको र यसका लािग निरन्तर सहयोग गरिरहने बताउनु भएको थियो।

कीर्तिपुर अस्पताल व्यवस्थापन समितिका अध्यक्ष तथा कीर्तिपुर नगरपालिकाका प्रमुख महर्जनले नेपाल मेड इभी संस्थाले नागरिकस्तरबाट कीर्तिपुरको स्वास्थ्य क्षेत्रमा गर्नुभएको सहयोगका लागि धन्यवाद् दिनुभएको थियो । नेपाल मेड इभी जर्मनीका अध्यक्ष डा. आर्ने ड्रिउजले नेपालको स्वास्थ्य क्षेत्रमा पूर्वाधार निर्माण, मानव संशाधन विकास र दक्षता अभिवृद्धिमा सहयोग गर्दै आएकोमा जनस्तरबाट भएको सहयोगले दुई देशबीचको सम्बन्ध अझ मजबुत हुने विश्वास व्यक्त गर्नुभयो।

त्यस्तै फेक्ट नेपालका अध्यक्ष डा. भरत प्रधानले जर्मनीमा विभिन्न क्षेत्रका कार्य गरिरहनु भएका नागरिकहरूको पहलमा स्थापित नेपाल मेड इभी संस्थाले २०७२ सालमा गएको भूकम्पमा नेपालको स्वास्थ्य क्षेत्रमा गरेको सहयोगको स्मरण गर्नुभयो । कार्यक्रममा फेक्ट नेपालका कार्यकारी निर्देशक गौरी प्रधानले स्थानीय सरकारसँगको सहकार्यमा सामुदायिक ढाँचामा सञ्चालन गरिएको कीर्तिपुर अस्पतालले छोटो समयमै विशिष्ट स्वास्थ्य सेवा प्रदान गर्न सफल भएको बताउनुहुँदै बाल चिकित्सा कक्ष निर्माणले मातृ तथा नवजात शिशुका लागि थप गुणस्तरीय स्वास्थ्य सेवा दिन सकिने बताउनु भयो ।

कार्यक्रममा अस्पतालका मेडिकल डाइरेक्टर डा. निजिना ताम्रकारले नेपाल मेड इभीको सहयोगमा कार्यान्वयन गरिएका विविध स्वास्थ्य परियोजनाका बारेमा जानकारी दिनुभएको थियो । डा. ताम्रकारले कीर्तिपुर अस्पताल अहिले १०० भन्दा बढी शैयाबाट सेवा दिइरहेको, प्रायः सबै सेवाहरू उपलब्ध रहेको र विस्तार पनि गरिरहेको बताउनु भएको छ ।