२०८० चैत्र १६, शुक्रबार

नागरिक अगुवा डा. महेशमान श्रेष्ठको भाषा चासो

लहनान्युज | सिल्लागा त्रयोदशी ११४२, २ बुधवाः

नागरिक अगुवा डा. महेशमान श्रेष्ठले काठमाडौं उपत्यकाको अस्तित्व जोगाउन भाषा, संस्कृति, सम्पदा र लिपिलाई संरक्षण गर्नुपर्नेमा जोड दिए । राजधानीमा सम्पन्न कार्यक्रमलाई सम्बोधन गर्दै डा. श्रेष्ठले नेपाल मण्डलको अस्तित्व संकटमा परेकोप्रति चिन्ता व्यक्त गरेका हुन् ।
 
’नेपाली कांग्रेस, नेकपा एमाले र माओवादीले आदिवासी नेवारको पहिचान संरक्षण गर्ने क्षेत्रमा ठोस नीति ल्याएन । त्यसैले आदिवासीहरूको भाषा, संस्कृति संकटमा छ ।’ डा. श्रेष्ठको आरोप थियो । श्रेष्ठले २०१५ देखि विभिन्न पार्टीमा आवद्ध भएर काम गर्दा पनि नेतृत्व तहले राजधानीको पहिचान संरक्षण हुने नीति नल्याएकोमा असन्तुष्टि पोखे ।
 
हुनपनि देशैभरबाट काठमाडौंमा अनियन्त्रित बसाइँसराइ हुँदा जनघनत्व उच्च भएर आवास, खानेपानी, ढलनिकास, सडकदेखि फोहोरमैलाको उचित व्यवस्थापन भएको देखिँदैन । यसले एक त शहरलाई प्रदुषित बनाएको छ भने अर्काेतर्फ ग्लोबल वार्मिङको नकारात्मक प्रभाव र जमिन भासिएको सम्मका प्रतिवेदनहरू सार्वजनिक भएका छन् ।
 
नेपालको राजनीतिमा एकल नश्लीय र परिवारवाद हाबी भएकोले भ्रष्टाचार मौलाएर देशको सम्मुचित विकास हुन नसकेको डा. श्रेष्ठको तर्क थियो । नेपाल कम्युनिस्ट पार्टीका संस्थापक नेता पुष्पलालले २००८ सालमै जातीय स्वशासनको नीति पारित गराएको उहाँले स्मरण गरे । तर सो नीति कार्यान्वयन भने हुन पाएन । यहि मुद्दामा नेवार समुदायका इनसाइक्लोपेडिया नामले परिचित प्रा. माणिकलालले पनि समर्थन जनाएको उहाँको भनाइ थियो । त्यसैले समावेशी ढंगको बहुपहिचानसहितको राज्य बनाएर गुरूङ, थारू, नेवार, मधेसी, लिम्बुहरूलाई आआफ्नो ठाउँमा नेतृत्वको अवसर दिएर देश विकास गर्नुपर्नेमा उहाँले जोड दिए ।
 
नेवाः राजनीतिक अभियानका संरक्षक समेत रहेका डा. श्रेष्ठले अभियन्ताहरूलाई मृत्यु संस्कारमा सहयोग गर्न, रगत अभावको समस्या समाधान गर्न तथा घरायसी मुद्दा मामिलामा अल्झिएका सदस्यहरूलाई सघाउन आह्वान गरे । 
त्यस्तै, अभियानका अध्यक्ष श्रीकृष्ण मानन्धरले नेवारहरूको हकअधिकारको लागि पृथक ढंगको राजनीतिक, आर्थिक र सांस्कृतिक विचार तयार गर्नुपर्नेमा जोड दिए । 
 
अभियानले नवनिर्मित विधान बमोजिम काठमाडौं महानगरमा कार्यसमिति बनाएको छ । पहिलो नगरसभाबाट बाबुराजा प्रजापतिको नेतृत्वमा १६ सदस्यीय नयाँ समिति छनोट गरेको हो । समितिमा उपाध्यक्ष कल्पना श्रेष्ठ र रमिता बज्राचार्य, सचिव रितेश मल्ल, कोषाध्यक्ष सत्यनारायण मुनिकार, सहसचिव साधना डंगोल चुनिएका छन् । त्यस्तै, सदस्यहरू क्रमशः सुमन मानन्धर, शान्ता प्रजापति, गोपालदास श्रेष्ठ, नहकुल श्रेष्ठ, कपिलमुनि बज्राचार्य, सचिन शाक्य, बबिता ताम्राकार, जितेन्द्र महर्जन, आलोक, पुर्ण महर्जन छन् ।
 
कार्यक्रममा विष्णु चित्रकार, मदनसेन बज्राचार्य, खगेन्द्र जोशी, प्रेमराज शिल्पकार, विद्या चित्रकार लगायत सहभागी थिए।