२०८१ बैशाख १२, बुधबार

बुद्ध विहार उद्घाटन : वुद्धको दर्शन प्रवर्धन गर्न काठमाडौँ महानगरको लगानी

रसिया श्रेष्ठ | सिल्लागा षष्ठी ११४२, ९ बुधवाः

काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले वुद्ध विहार उद्घाटन गर्नुभएको छ। वडा २८ बागबजारमा रहेको बुद्ध विहार पुनःनिर्माणका लागि महानगरले २०७६ साउन ३२ गते १ करोड रुपैयाँ र २०७७ माघ २४ गते थप ७० लाख रुपैयाँ अनुदान दिएको छ। महानगरले उपलब्ध गराएकोबाहेक अन्य रकम दाताहरुबाट प्राप्त भएको हो।
 
यो रकमबाट ८ हजार ५ सय ५७ वर्ग मिटर क्षेत्रफलमा विहार निर्माण भएको हो। नवनिर्मित बिहार नेपाली शैलीमा ३ तलाको छ । भवनमा एउटा धर्म सभा हल, ध्यान सभा हल, पूजा कोठासहित कोठा, पुस्तकालय र आवासीय प्रयोजनमा ल्याउन सकिने ३ वटा कोठा छन् । २०७२ सालको भूकम्पबाट क्षतिग्रस्त भएको विहार पुननिर्माणका लागि २०७५ साल बैशाख १० गते शिलान्यास गरिएको थियो।
 
उद्घाटनपछि बोल्दै मेयर शाक्यले, वुद्ध दर्शनसँग सम्बन्धित गतिविधिका लागि महानगरले लगानी गरिरहेको बताउनुभयो । ‘खर्च र लगानीमा भिन्नता छ । हामीले खर्च होइन लगानी गरेका हौँ ।’ विहार निर्माणका लागि दिइएको अनुदान रकमका विषयमा कुरा गर्दै मेयर शाक्यले भन्नुभयो, ‘यी मौलिक भौतिक संरचनाहरु पर्यटन प्रवर्धनका कार्यक्रमसँग सम्बन्धित छन्। पर्यटक यी ठाउँ र संरचनामा घुम्न आउन थालेपछि स्थानीयसँगै राष्ट्रिय आयमा वृद्धि हुन्छ । एकपटक आएको पर्यटकले यहाँका सम्पदाका बारेमा राम्रो खवर आफ्नो ठाउँमा पु¥याएपछि पर्यटकको संख्या बढ्छ । त्यसैले अहिले महानगरले दिएको बजेट सम्पदा संरक्षण र पर्यटन प्रवर्धनका लागि लगानी पनि हो।’
 
त्यस क्रममा उहाँले महानगर क्षेत्रभित्र १५० भन्दा बढी संख्यामा धार्मिक तथा सांस्कृतिक महत्वका बहा, बहिल, द्यो छेँ, क्वापा छेँ, पाटी, सत्तल, मठ, मन्दिर जस्ता भौतिक सम्पदाको पुननिर्माण भएको बताउनुभयो । 
 
उपमेयर हरिप्रभा खड्गी श्रेष्ठले, परम्परादेखि चलिआएका संस्कार, संस्कृति र परम्परालाई निरन्तरता दिन महानगरले जिम्मेवारी पूरा गरेको उल्लेख गर्नुभयो । ‘स्थानीयपनलाई जोगाउन सके मात्र मौलिकता जोगिन्छ । यो विषय हामीलाई महसुस छ । यसैअनुरुप हामीले मूर्त अमूर्त सम्पदा, भाषा, कला, साहित्य र सिर्जनाको संरक्षण तथा प्रवर्धनका कार्यक्रम कार्यान्वयन गरेका छौँ ।’ उपमेयर खड्गी श्रेष्ठको भनाइ थियो।
 
विहार नेपाली वास्तु कलात्मक शैलीमा निर्माण भएको छ । विहारको प्राविधिक विषयमा जानकारी दिँदै सहरी योजना आयोगका सदस्य सजीव शाक्यले भन्नुभयो, अन्य ठाउँमा विहार बनाउँदा यसलाई नमूना बनाउन सकिन्छ।
 
महानगरबाट सहयोग प्राप्त भएपछि स्थानीय सरकार भएको महसुस भयो । विहार उद्घाटनपछि भिक्षु कौडिण्यले प्रतिक्रिया दिनुभयो । यसप्रकारको सहयोग निरन्तर प्राप्त हुनेछ भन्ने अपेक्षा गरेका छौँ । भिक्षु कौडिण्यको भनाइ थियो । 
कार्यक्रममा विहार निर्माणका लागि ५० हजार रुपैयाँभन्दा बढी रकम सहयोग गर्ने १६० जना दातालाई सम्मान गरिएको थियो।
 
बुद्ध बिहार २०३४ साल फागुन महिनाको चीर रथारोहण अष्टमीका दिन स्थापना गरिएको हो।