२०८१ बैशाख १३, बिहिबार

निर्मल बाल विकास विद्यालयको छात्राबास भवन शिलान्यास

रसिया श्रेष्ठ | चिल्लागा चतुर्दशी ११४२, १७ बिहीवाः

बौद्धिक अपाङ्गता भएका विद्यालय उमेरका बालबालिकाका लागि आवासीय भवन बनाइदिने काठमाडौँ महानगरका प्रमुख विद्यासुन्दर शाक्यले बताउनुभएको छ।

निर्मल बाल विकास विद्यालयको छात्राबास भवन शिलान्यास तथा भान्छाघरको उद्घाटन गर्दै प्रमुख शाक्यले यस्तो बताउनुभएको हो। छात्राबास भवन शिलान्याससँगै प्रमुख शाक्यले, नवनिर्मित २ तले भवनको भुइँ तलामा बनाइएको भान्छाको उद्घाटन गर्नुभएको थियो।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बद्रीप्रसाद तिमिल्सिनाकाअनुसार भवन निर्माण गर्न बागमती प्रदेशबाट ४७ लाख रुपैयाँ, राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमबाट १८ लाख रुपैयाँ र निर्माण सम्पन्न कार्यान्वयन एकाइबाट १० लाख रुपैयाँ प्राप्त भएको थियो। शिलान्यास गरिएको भवन निर्माणको लागत २ करोड ७७ लाख अनुमान गरिएको छ।कार्यक्रममा प्रमुख शाक्यले, छात्राबास निर्माण भएपछि थप सुविधा हुने बताउनुभयो।

‘विद्यालयले सञ्चालन व्यवस्थापन गर्ने जिम्मा लिन्छ भने हामी आवासीय भवन पनि बनाइदिन्छौँ ।’ प्रमुख शाक्यले भन्नुभयो, ‘जनताको स्वास्थ्य र शिक्षाका लागि काठमाडौँ महानगरपालिका पूर्ण जिम्मेवारी लिनेछ।’कार्यक्रममा प्रदेश सभा सदस्य गणेश दुलालले महानगरको सहयोगबाट विद्यालय सञ्चालनमा सहज हुँदै गएको धारणा राख्नुभयो त्यसैगरी वडाध्यक्ष नारायण भण्डारीले, विद्यालयको सेवा सुविधा बढाउन वडाले आफ्नो तहबाट जिम्मेवारी पूरा गर्ने बताउनुभयो।

काठमाडौँ महानगरको वडा नं. ३१ भीमसेनगोलामा रहेको यस विद्यालयमा अहिले आवासीय सुविधासहित १५ जना विद्यार्थी छन्। तीमध्ये १२ जना छात्रा र ३ जना छात्र छन्। घरबाट आउने जाने विद्यार्थीको संख्या ८५ छ । यी बालबालिकाले अध्ययन र सीपमुलक तालिम लिइरहेका छन्।आवासीय सुविधासहित बसेका जसमध्ये ६ जना बालबालिका अनाथ हुन्। उनीहरुको संरक्षक विद्यालय नै हो।

विद्यालयकी प्रधानाध्यापक ज्योती खनाल भट्टराईकाअनुसार विद्यार्थीहरुका आवश्यकता, क्षमता, र रुचीका आधारमा शिक्षा, सीपमुलक तालिम दिने गरिएको छ। यसका लागि सरकारले उपलब्ध गराउने मासिक ४० हजार रुपैयाँ नै स्रोत हो। यसैबाट सम्पूर्ण खर्च पु¥याउनुपर्छ ।शिलान्यास भएको भवन निर्माण भएपछि छात्राबास सुविधामा ६० जना विद्यार्थीलाई राख्न सकिन्छ।

प्रधानाध्यापक भट्टराई भन्नुहुन्छ, ‘दुर्गमबाट आएका, अनाथ र छात्रालाई प्राथमिकताका आधारमा राख्ने योजना छ।’ विद्यालयको भौतिक तथा व्यवस्थापकीय क्षमता बढाउन सहयोग गरेको उल्लेख गर्दै कार्यक्रममा प्रमुख शाक्य, पूर्वाधार विकास विभागका प्रमुख राम थापा र शिक्षा विभागका प्रमुख रामप्रसाद सुवेदीलाई सम्मान गरिएको थियो।