२०८१ बैशाख ८, शनिबार

आर. मानन्धरको ‘कवितामा आकाश’ कविता संग्र्रह प्रकाशित

केके मानन्धर | चिल्लागा औंसी ११४२, १८ शुक्रवाः

साहित्यकार आर. मानन्धरले रचना गरेको ‘कवितामा आकाश’ कविता संग्र्रह प्रकाशित भएको छ । साहित्यिक कृतिहरु प्रकाशन गर्दै आएको मञ्जरी प्रकाशन गृहले सो पुस्तक बजारमा ल्याएको हो ।
 
तीन खण्ड बनाएर प्रकाशित भएको पुस्तकमा कविता, चिन्तन र दर्शन छन् । कविता खण्डमा आकाशको विषयमा मात्र केन्द्रित भएका उनान्चास कविताहरु संलग्न छन् । ती कविताहरुलाई प्रयोगधर्मी कविता भन्न सकिन्छ । दोस्रो खण्डमा मानव र जगत्लाई लिएर चिन्तन गरिएका छत्तीस कवितात्मक रचनाहरु छन्।
 
त्यस्तै, तेस्रो खण्डमा पूर्वीय आध्यात्मिक दर्शनले भरिएका तेत्तीस रचनाहरु छन् । समग्रमा यस कृतिलाई दर्शनको भावभूमिमा कविता र कवितात्मकताको प्रयोग भन्न सकिन्छ । साहित्यकार अमर न्यौपानेले ‘कवितामा आकाश’ पुस्तकलाई आकाश–काव्य भनेका छन् ।
 
मानव जीवन धरतीमा बाँचेपनि उभित्र आकाश, घाम, जून र ताराहरु उदाउने र अस्ताउने साहित्यकार न्यौपानेको तर्क छ। कवितामा भावना र विचार मात्र नभएर चिन्तन र दर्शन पनि संलग्न भएकोले सोही प्रभावमा आर. मानन्धरले ‘कवितामा आकाश’ रचना गरेको उनको दाबी छ ।
 
मूलतः नेपालभाषाका लेखक आर. मानन्धर पाँच वर्षअघि ‘क्षितिजको स्पर्श’ दर्शन–साहित्यको पुस्तक लिएर नेपाली साहित्य क्षेत्रमा देखा परेका हुन् । ‘क्षितिजको स्पर्श’ मानन्धरको दोस्रो नेपाली भाषाको कृति हो । नेपालभाषा र अँग्रेजीमा पनि उनका कृतिहरु प्रकाशित भइसकेका छन्।
 
‘कवितामा आकाश’का रचनाहरुले आफ्नै विशिष्टतासहित अलग्गै प्रस्तुति दिएको छ । यहि विशेषता नेपाली साहित्यिक क्षेत्रको लागि सधैं स्मरणीय रहने आर. मानन्धरको दाबी छ । उनी नेतृत्व विकास र माइन्डफुलेसनका प्रशिक्षक हुन् । युवावस्थादेखि नै नेपालभाषा साहित्यमा अटुट रुपमा कमल चलाइरहेका उनी नेपाली हुँदै अँग्रेजीमा समेत विस्तार भएका छन्।
 
उनी ‘द हिमालयन टाइम्ह’ दैनिकमा झण्डै एक दसक नेतृत्व विकाससम्बन्धी स्तब्ध लिडरसीप लिगका नियमित स्तम्भकार रहेका थिए। उनको अँग्रेजी पुस्तक कन्सियस लिडरसीप ः अ जर्नि विडईन पनि प्रकाशित छ ।
 
नेपालीमा उनको दर्शन–साहित्यको पुस्तक शितिजको स्पर्श प्रकाशित छ। उनले बाल्यकालमै पाँच वर्ष बौद्ध श्रमण भई थाइल्याण्डमा धर्म–दर्शनको अध्ययन गरेका थिए । उनी मनोविमर्शकर्ता हुनुका साथै नेतृत्व विकासको प्रशिक्षण प्रदान गर्ने संस्था काबुले–द वाइज लिडर का संस्थापक पनि हुन्।