२०८१ बैशाख १४, शुक्रबार

भारतमा कोरोनाको चौथो लहरको संकेत

लहनान्युज | चौलागा तृतीया ११४२, बैसाख ६ मंगलवाः

भारतमा कोरोनाको चौथो लहरको संकेत देखिन थालेको छ।

पछिल्लो २४ घण्टामा भारतभर २ हजार १ सय ८३ नयाँ संक्रमित भेटिएका छन्। एकै दिनमा संक्रमितको संख्या झन्डै ९० प्रतिशतले बढेको छ।

अघिल्लो दिन संक्रमितको संख्या १ हजार १ सय ५० थियो । भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार कोरोनाका कारण पछिल्लो २४ घण्टामा २ सय १४ जनाको मृत्यु भएको छ।

उत्तर प्रदेशमा तीन दिनमै २ सय नयाँ संक्रमित भेटिएपछि मुख्यमन्क्री योगी आदित्यनाथले संत्रमणको पछिल्लो अवस्थाबारे सोमबार समीक्षा बैठक गरेका थिए।

बैठकपछि उनले गौतमबुद्ध नगर, गाजियावाद, हापुड, मेरठ, बुलंदशहर, बागपत र लखनउमा सार्वजनिक स्थानमा मास्कलाई अनिवार्य गर्न निर्देशन दिएका छन्। गत डिसेम्बरमा कोरोनाको तेस्रो लहर फैलिएको थियो ।

स्थिति सामान्य भएको दुई महिना नबित्दै सातायता संक्रमितको संख्या ह्वात्तै बढेको छ। दिल्ली, हरियाणा, उत्तरप्रदेश, केरला, महाराष्ट्र र मिजोरममा संक्रमितहरूको संख्या तीव्र रूपमा बढ्न थालेको हो।

दिल्लीमा एक साताको अन्तरालमा १ सय ४५ प्रतिशतले संक्रमित बढेका छन् । पछिल्लो ७ दिनमा २ हजार ३ सय ७ संक्रमित भेटिएका छन् । त्योभन्दा अगाडि सातामा ९ सय ४३ संक्रमित पाइएको थियो।