२०८१ बैशाख ७, शुक्रबार

आम सञ्चार प्रतिष्ठान महत्वपूर्ण प्रतिष्ठानको स्थापना गलत

लहनान्युज | बछलागा त्रयोदशी ११४२, जेष्ठ १४ सनिवाः

नेपाल सरकारको नीति तथा कार्यक्रम २०७९÷८० को बुँदा नं ८५ मा “आमसञ्चारका क्षेत्रमा कार्यरत जनशक्तिको क्षमता विकास गर्न कृष्णप्रसाद भट्टराई आमसञ्चार प्रशिक्षण प्रतिष्ठान सञ्चालनमा ल्याइनेछ।” भनी उल्लेख गरिएको प्रति हाम्रो ध्यानाकर्षण भएको छ। 
 
विगतमा पनि नेपाल पत्रकार महासंघको संस्थापक अध्यक्ष भनी गलत तथ्यमा आधारित भइ कृष्णप्रसाद भट्टराईको नाममा आमसञ्चार प्रतिष्ठान सञ्चालनमा ल्याउने प्रयासहरु भएका छन्। यो बुँदा समेटिनु भनेको २००८ सालमा नेपाल पत्रकार संघ स्थापना गरी पत्रकार एकताको महत्वपूर्ण अभियान आरम्भ गर्नुहुने उक्त संघका संस्थापक अध्यक्ष सत्यनारायण बहादुर श्रेष्ठको योगदानप्रति वेवास्ता गरेको मात्र नभइ सही एवं प्रमाणित तथ्य मेट्न खोजेको समेत प्रष्ट हुन्छ। 
 
२००८ सालमा नेपाल टुडेका सम्पादक सत्यनारायण बहादुर श्रेष्ठको अध्यक्षतामा गठन भएको नेपाल पत्रकार संघ नै हालको नेपाल पत्रकार महासंघको शुरुवात हो। काठमाडौंको भोटाहिटीस्थित आर्य समाजको भवनमा सम्पन्न यस संघको दोश्रो सभाले पनि सत्यनारायण बहादुर श्रेष्ठलाई नै सभापति चुनेको र त्यसको ४ बर्षपछि २०१२ साल चैत्र १६ गते नेपाल पुकारका सम्पादक कृष्णप्रसाद उपाध्याय भट्टराई सभापति बनेका हुन्। 
 
२०१२ सालमा नेपाल पत्रकार संघको पुर्नगठन गर्ने ब्यक्ति भट्टराईलाई संस्थापक मान्ने गलत परम्परा बसाल्ने प्रयास गर्दै यो सरकारले नीति तथा कार्यक्रममा भट्टराईको नाममा प्रतिष्ठान ल्याउने उल्लेख हुनु पत्रकार महासंघका संस्थापक अध्यक्ष श्रेष्ठप्रति राज्यले गरेको अपमान हो, अन्याय हो। बारम्बार गलत तथ्यलाई स्थापित गराउने यो कुप्रयासको हामी घोर भत्र्सना गर्दछौं। 
 
शक्तिकै भरमा गलत तथ्यलाई स्थापित गराउने र वास्तविक इतिहास मेट्न खोज्ने  प्रयासविरुद्धको आवाज नै गणतन्त्र हो। आजको गणतान्त्रिक संघीय नेपालमा पुनः त्यही अभ्यास दोहोरिने हो भने निकै गलत प्रयास हुनेछ। गएको पुस १३ गते महासंघका संस्थापक अध्यक्ष श्रेष्ठको जन्मजयन्ती पत्रकार महासंघकै सभाकक्षमा मनाएको समेत यो समय हामी स्मरण गर्न सक्छौं। 
 
तसर्थ आम सञ्चार प्रतिष्ठान महत्वपूर्ण प्रतिष्ठानको स्थापना गलत तथ्यमा आधारित नहोस्। नेपाल पत्रकार महासंघको संस्थापक अध्यक्ष सत्यनारायण बहादुर श्रेष्ठको नाममा आमसञ्चार प्रतिष्ठान ल्याइयोस्। नेवाः पत्रकारहरुको राष्ट्रिय संगठन नेवाः पत्रकार राष्ट्रिय दबू सरकार तथा सम्वद्ध पक्षसँग जोडदार माग गर्दछ।