२०८० चैत्र १६, शुक्रबार

देश लिलाम हुने स्थितिमा छ :प्रेम सुवाल

लहनान्युज | बछलागा चतुर्दशी ११४२, जेष्ठ १५ आईतवाः

नेपाल मजदुर किसान पार्टीका सचिव एवं संघीय सांसद प्रेम सुवालले देश लिलाम हुने स्थितिमा पुगेको बताएका छन् ।
 
चाँगुनारायण नगरपालिका वडा नं. ८ ताथलीले आयोजना गरेको बधाई तथा धन्यवाद ज्ञापन कार्यक्रममा उनले देशको अर्थतन्त्र नाजु्क अवस्थामा पुगेको बताउँदै देश नै लिलाम हुने स्थितिमा पुगेको बताए हुन् ।
 
उनले शासक तथा ठूला दलको अर्कमण्यताको कारण देशको ऋण बढिरहेको उल्लेख गरे । 
 
स्थानीय तहको निर्वाचन २०७९ मा चाँगुनारायण नगरपालिका वडा नंं ९ ताथलीमा निर्वाचित जनप्रतिनीधिहरुलाई बधाई तथा मतदाताहरुलाई धन्यवाद ज्ञापन कार्यक्रममा सांसद सुवालले देशको अर्थतन्त्र खोक्रो बन्दै गइरहँदा पनि शासक दलहरुले त्यतातिर ध्यान दिन नसकेको बताए।
 
स्थानीय तहको निर्वाचनको समीक्षा गर्दै उनले ठूला दलहरुले आफू जित्नका लागि सिद्धान्तहीन सम्झौता गरी जनतालाई झुक्याएको समेत बताए। उनले ठूला दलहरुले गठबनधनको नाममा प्रजातन्त्रविपरीत काम गरेको उल्लेख गर्दै काँग्रेस, एमाले, माओवादी, राप्रपा, जसपा सिद्धान्तमा टिक्न नसकेको चर्चा गरे।
 
नेपाल मजदुर किसान पार्टीले सिद्धान्त विपरीत कुनै काम नगरेको कारण अन्य दलहरुका लागि नेमकिपा चुनौति बनिरहेको सन्दर्भ जोड्दै उनले राष्ट्रियता र सार्वभौमिकता रक्षाको सन्दर्भमा नेमकिपाको जीत भएको बताए।
 
कार्यक्रममा उनले निर्वाचित जनप्रतिनीधिहरुले देश र जनताको निःस्वार्थ सेवा गर्न, पूवाग्रहविना काम गर्न निर्देशन समेत दिए । उनले पार्टीको सिद्धान्त र विचारबाट विचलित नभई काम गर्नुपर्ने समेत बताए।
 
कार्यक्रममा नेमकिपाका केन्द्रीय सदस्य सरोजराज गोसाइँले नेमकिपाको संगठन विभिन्न जिल्लाहरुमा फैलिरहेको र स्थानीय तहको निर्वाचनमा केही पालिकाहरुमा जीत हासिल गरेको उल्लेख गरे।
 
उनले नेमकिपालाई हराउनका लागि ठूला दलहरु साम, दाम, दण्ड, भेदको नीति लिएर अघि बढेको चर्चा गर्दै नेमकिपाले सदैव जनताको हितलाई ध्यानमा राखी काम गरिरहेको बताए।
 
कार्यक्रममा नेमकिपा चाँगुनारायण नगरापालिकाका अध्यक्ष न्हुेच्छेभक्त फोँजूले निर्वाचन घोषणापत्र अनुसार काम गर्न निर्देशन दिए भने मेयर पदका उम्मेदवार केशवप्रसाद तिमिल्सिनाले निर्वाचनमा हार व्यहोरे पनि जनताको सेवामा कटिवद्ध भइ लाग्ने प्रतिवद्धता जनाए।
 
कार्यक्रममा चाँगुनारायण नगरपालिका वडा नं. ९ ताथलीका वडाध्यक्ष गणेश त्यातले जनताको मतको कदर गर्ने प्रतिवद्धता जनाउँदै जनहित विपरीतका कामविरुद्ध खबरदारी गरिरहने बताए।
 
सोही अवसरमा आयोजक समितिका संयोजक नारायणभक्त न्हेम्हाफुकी, सहसंयोजक घनश्याम खड्का, देवी माविका प्रधानाध्यापक राजाराम छुकां, शिक्षक रवीन्द्र न्हेम्हाफुकी, तख्योचास्थित टोल विकास संस्थाका सचिव अमृत प्रधान, पत्रकार हरिसुन्दर छुकांलगायतले निर्वाचित जनप्रतिनीधिहरुलाई बधाइ ज्ञापन गरेका थिए।