२०७९ आश्विन ९, आइतबार

अन्तर्राष्ट्रिय क्षेत्रमा व्यावसायिक पहुँचको लागि कार्यक्रम

लहनान्युज | तछलागा पारु ११४२,असार १ बुधवाः

अन्तर्राष्ट्रिय क्षेत्रमा व्यावसायिक पहुँच बिस्तार गर्ने उद्देश्यले भक्तपुरमा चारदिने क्षमता अभिवृद्धि तालिम कार्यक्रमको आयोजना गरिएको छ।
 
भक्तपुर चेम्बर अफ कमर्स र व्यापार तथा निकासी प्रबद्र्धन केन्द्रले संयुक्त रुपमा कार्यक्रम गरेको हो। ‘व्यावसायिक क्षमता अभिवृद्धि गरी बस्तु आयात र निर्यात सम्बन्धिको ज्ञान दिनको लागि हामीले कार्यक्रम गरेका छौं। जेठ मसान्तदेखि असार ३ गतेसम्म हुने तालिममा २५ जना व्यवसायीहरु सहभागी छन्।’ भक्तपुर चेम्बरका अध्यक्ष न्हुछेरत्न मानन्धरले जनाए। 
 
हुनपनि चेम्बरले भक्तपुरमा उत्पादन हुने तोरीको तेल, जुजु धौ, कालो टोपी, ह्याण्डीक्राफ्ट, लोकल रक्सी लगायतका स्थानीय उत्पादनलाई ब्राण्ड बनाउनुपर्नेमा जोड दिँदै आएको छ। तालिम कार्यक्रम पश्चात् स्थानिय स्तरमा उत्पादित बस्तुलाई ब्राण्ड बनाएर अन्तर्राष्ट्रिय बजारमा निर्यात गर्ने वातावरणको सिर्जना हुनेमा मानन्धर आशावादी छन्। 
 
त्यस्तै, व्यापार तथा निकासी प्रबद्र्धन केन्द्रका कार्यकारी निर्देशक शरदविक्रम राणाले भक्तपुरमा उत्पादित बस्तुलाई अन्तर्राष्ट्रिय बजारमा निर्यात गर्नसके समग्र देशमा हुने बस्तु आयातको दर कम हुने बताए। अहिलेको अवस्थामा निर्यात भन्दा अयात १० गुणाले बढीरहेको भन्दै राणाले यसप्रति चिन्ता व्यक्त गरे।
 
तालिम कार्यक्रमलाई भक्तपुर चेम्बर अफ कमर्सका अध्यक्ष न्हुछेरत्न मानन्धर र व्यापार तथा निकासी प्रबद्र्धन केन्द्रका कार्यकारी निर्देशक शरदविक्रम राणाले संयुक्तरुपमा गरेका छन्। कार्यक्रममा भक्तपुर चेम्बर अफ कमर्सका सल्लाहकार रोशन भोयद्यो, विष्णु भक्त मारिखु लगायतको उपस्थिति थियो।