२०८१ बैशाख १४, शुक्रबार

स्वस्थ्य सहर शिखर सम्मेलनमा भाग लिन प्रमुख शाह बेलायत प्रस्थान

शोभा श्रेष्ठ | चिल्लागा सप्तमी ११४३, फागुन ३० मंगलवाः

गैरसंक्रामक रोग र जटिल चोट पटकको विश्वव्यापी बोझसँग लड्न विषयमा सम्मेलन हुँदै 
 
काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) स्वस्थ्य सहर शिखर सम्मेलनमा भाग लिन बेलायत प्रस्थान गर्नुभएको छ। उहाँ चैत ५ गते स्वदेश फर्कनु हुनेछ । यस अवधिका लागि उपप्रमुख सुनिता डंगोललाई कार्यवाहक प्रमुखको जिम्मेवारी दिनुभएको छ । 
 
प्रस्थानका क्रममा त्रिभुवन विमानस्थलको विशिष्ट कक्षबाट उहाँलाई महानगरका प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारीले विदाई गर्नुभयो । मंगलबार विहान २ बजेको उडानबाट सम्मेलनमा जानु भएका प्रमुख शाहसँग स्वास्थ्य सल्लाहकार डा. जगदिश अग्रवाल, वडा २४ का अध्यक्ष बिनोद राजभण्डारी र स्वकीय सचिव भुपदेव शाह हुनुहुन्छ । 
 
विदाईका लागि वडा ११ का अध्यक्ष हीरालाल तण्डुकार, प्रशासन विभागका प्रमुख दिपक अधिकारी, प्रमुखको सचिवालय प्रमुख नुरनिधि न्यौपाने, अन्तरराष्ट्रिय सम्बन्ध सचिवालयका प्रमुख सुदर्शन भट्टराईसहित अधिकारीहरु विमानस्थल जानुभएको थियो । 
 
चैत २ गतेसम्म हेल्दी सिटीज समिट इन लण्डन शिखर सम्मेलन हुँदैछ । सम्मेलनमा भाग लिन मेयरसँगै, साझेदार सहरबाट प्राविधिक सत्रमा सामेल हुन निमन्त्रणा गरिएको थियो । 
 
ब्लुमबर्ग फिलान्थ्रोपिज र विश्व स्वास्थ्य संगठन आयोजक रहेको सम्मेलनको सह आयोजनामा लण्डनको मेयर हुनुहुन्छ । शिखर सम्मेलनले मेयर र सहरका प्राविधिक कर्मचारीहरूलाई गैरसंक्रामक (नसर्ने खालका रोग) र चोट पटकका कारण मानव स्वास्थ्यमा सिर्जना भएको विश्वव्यापी बोझसँग कसरी लड्ने भन्ने विषयमा छलफल हुनेछ । सम्मेलनबाट आएका निचोडले स्वस्थ्य सहर निर्माण गर्न अग्रणी रणनीति प्रदान गर्नेछ । 
 
विश्वमा सहरीकरण तीब्र गतिमा फैलिएको छ । अस्वस्थ्य सहरी आचरण र दुर्घटनाहरु बढ्दै जाँदा, सहरी केन्द्रहरूमा बस्ने मानिसहरु नसर्ने रोगका कारण मृत्युबरण गरिरहेका छन् । हृदय रोग, स्ट्रोक, क्यान्सर, मधुमेह, पुरानो श्वासप्रश्वासका रोगहरू मानव मृत्युको कारण बनेका छन् । विश्वव्यापी रूपमा हेर्दा सबै मृत्युमध्ये ८० प्रतिशत मृत्यु चोटका कारण भइरहेको छ । 
 
सहरहरूमा बसोबास गर्ने मानिसहरू नसर्ने रोगबाट आफूलाई बचाउन कमजोर हुँदै गएका छन् । यसबेला जीवन बचाउने र स्वस्थ सहर निर्माण गर्ने विषयमा साझा रणनीति चाहिएको छ । शिखर सम्मेलनले स्वस्थ्य र जीवन्त सहरहरू निर्माण गर्ने उत्कृष्ट अभ्यासमा छलफल गर्नेछ । 
 
सम्मेलनबाट मेयर र प्राविधिकको प्रतिनिधिमुलक सञ्जाल निर्माण हुनेछ । यसमार्फत नसर्ने खालका रोग र चोटपटक कम गर्ने रणनीति र उपायका क्षेत्रमा सहकार्य हुनेछ ।