२०८१ बैशाख १५, शनिबार

सीप विकास सिकाइका लागि अवलोकन योग्य

शोभा श्रेष्ठ | तछलाथ्व एकादशी ११४३, बैसाख १८ सोमवाः

काठमाडौँ महानगरपालिकाले दरबार हाइ स्कूलअन्तर्गतका भानु माध्यमिक विद्यालय र संस्कृत माध्यमिक विद्यालयले परिसरमा तरकारी रोपेका छन् । यहाँ उत्पादन भएको साग खान थालिएको छ । खुर्सानी, भिण्डीजस्ता तरकारीका विरुवामा फुल फुल्न थालेको छ । अरु विरुवा हुर्किरहेका छन् । विद्यालयको यो उत्पादन महानगरपालिकाले २०८० बैशाख १२ गतेबाट माध्यमिक कक्षाका लागि कार्यान्वयनमा ल्याएको छोटो अवधिको सीपमूलक तालिमका लागि अवलोकन योग्य बनेको छ ।
 
नमूना विद्यालयका लागि महानगरबाट प्राप्त अनुदानबाट दुवै विद्यालयले ५÷५ लाख रुपैयाँ सहरी तथा कौसी तरकारी खेतीमा लगानी गरेका छन् । विद्यालयका प्रधानाध्यापक शिव अधिकारीकाअनुसार कम्पाउण्डको खाली ठाउँमा तरकारीका विरुवा रोपिएका छन् । खेतीका लागि काम गर्न विद्यार्थीहरुको समूह निर्माण गरिएको छ । परामर्शदाता तथा विज्ञहरुसँग सहयोग लिइएको छ । तरकारी रोप्नकै लागि भनेर २ वटा टावर निर्माण गरिएका छन् । एउटा टावरमा करिब ३५ वटा प्वाल छन् । ती हरेक प्वालमा तरकारीका विरुवा रोपिएका छन् ।
 
१ महिनामा तरकारी उत्पादन सुरु हुने रहेको छ । प्रधानाध्यापक अधिकारी भन्नुहुन्छ, ‘यहाँ उत्पादन भएको तरकारी छात्राबासमा प्रयोग गर्ने लक्ष्य छ । तरकारी विक्री गर्न सकियो भने यसबाट आएको रकम विद्यार्थी कल्याण कोष बनाएर संकलन गर्छौँ । यसबाट विद्यार्थीहरुको क्षमता विकासमा खर्च गर्छौँ ।’
 
नमूना विद्यालयका लागि महानगरले यी २ वटा विद्यालय र क्षेत्रपाटीको कन्या माध्यमिक विद्यालयलाई चालु आर्थिक बर्षमा ३० लाख रुपैयाँ उपलब्ध गराएको छ । 
 
सहरी तथा कौसी खेतीमा यो विद्यालयसँगै अन्य विद्यालयमा पनि विद्यार्थीहरुको रुचि देखिएको छ । बालाजुमा रहेको तरुण माध्यमिक विद्यालयका ३० जना विद्यार्थीले गएको शुक्रबारबाट यस सम्बन्धी प्रशिक्षण लिन सुरु गरेका छन् । कक्षा ९ मा ८५ जनाभन्दा धेरै विद्यार्थी हुनुहुन्छ । उहाँहरुमध्ये रुचिका आधारमा विद्यालयले सहरी तथा कौसी खेतीका लागि ३० जना विद्यार्थीहरुको समूह बनाएर हामीलाई दिनुभयो । तालिमकी प्रशिक्षक टावर ग्यालेक्सका संस्थापक प्रलिशा अधिकारी भन्नुहुन्छ, पहिलो दिनको कक्षामा हामीले कृषि र सहरी खेतीका विषयमा विद्यार्थीको बुझाइ र रुचिका विषयमा जानकारी लियौँ ।
 
अधिकारीका अनुसार विद्यार्थीहरुलाई पाठ्यक्रममा आधारित माटो, मल र बीउका प्रकार चिनाउने, उत्पादन बढ्ने वातावरण र तत्वका विषयमा जानकारी दिने, जैविक मल बनाउन सिकाउने लगायत सीप सिकाइन्छ । प्रविधिमा आधारित खेती, माटो र मलको मिश्रण, विरुवाको हेरचाह, नर्सरी, विरुवामा थाङ्ग्रा लगाउने विषयमा विद्यार्थीलाई सीप दिइनेछ ।
 
महानगरले पुस्तक विहिन शुक्रबारका कार्यक्रम अन्तर्गत थालेको तालिमबाट विद्यार्थीहरुले व्यवहारिक र जीवन उपयोगी सीप प्राप्त गर्न सक्नेछन् । विद्यालय तह पूरा गर्दा कम्तीमा एउटा प्राविधिक क्षेत्रमा स्वरोजगार हुन सक्ने जनशक्ति तयार गर्नु तालिमको मुख्य उद्देश्य हो ।
 
तालिम सञ्चालन गर्न विद्यार्थीहरुको रुचि बुझ्ने, समूह निर्माण गर्ने, तालिमका विषयमाथि परामर्श गर्ने, प्रशिक्षण व्यवस्थापन गर्नेलगायत काममा विद्यालय व्यस्त छन् ।
 
कक्षा ९ मा नमूनाका रुपमा थालिएको ९० घण्टे तालिमका लागि कृषि तथा सहरी खेती, सौन्दर्य कला र कपाल शैली (हेयर स्टायल), काष्ठकला तथा नक्कासी (कुँदेर बेलबुट्टा भर्ने काम), पाक कलालगायत १० वटा क्षेत्र निर्धारण गरिएका छन् । फेसन डिजाइन र कपडा निर्माण, घरमा तार र विजुली जडान (वायरिङ् एण्ड इलेक्ट्रिकल), विपद पूर्वतयारीका लागि भवन निर्माणको रैथाने (परम्परागत) कला, मोवाइल र विद्युतीय सामान, पाइप जडान तथा मर्मत, कला र मूर्तिकला विधा तालिमका विधा हुन् ।
 
यसले विद्यार्थीहरुमा श्रमप्रतिको आदर र सम्मान भाव विकास हुनेछ । कार्यक्रममा सामुदायिक विद्यालयमा अध्ययनरत कक्षा ९ देखि कक्षा १२ सम्मका विद्यार्थीहरु सहभागी हुनेछन् । हरेक तालिमको १ समूहमा २० जनादेखि ३० जनासम्म विद्यार्थी राखिनेछ । विद्यालयले पठाएको प्रस्तावका आधारमा तालिम सञ्चालन गर्न महानगरले अनुदान रकम उपलब्ध गराइनेछ ।
 
अहिले ११ वटा सामुदायिक विद्यालयहरुमा कक्षा ९ देखि १२ सम्म प्राविधिक धारतर्फका विषयहरु पठन पाठन भईरहेका छन् । बाल शिक्षा, आधारभूत शिक्षा र माध्यमिक शिक्षालाई थप जीवनोपयोगी र व्यावसायिक बनाउँदै लैजाने महानगरको शिक्षा सम्बन्धी नीति हो ।