२०८१ बैशाख १२, बुधबार

विशेष सरसफाइमा सार्वजनिक स्थलबाट ६८ गाडी फोहोर संकलन

शोभा श्रेष्ठ | तछलाथ्व सप्तमी ११४३, जेठ १३ शनिवाः

आज काठमाडौँ सहरका सार्वजनिक ठाउँमा भएको विशेष सरसफाइबाट ६८ गाडी फोहोर संकलन भएको छ । जसमा महानगरले ३१ गाडी र निजी क्षेत्रले ३६ वटा गाडी फोहोर संकलन गरेका थिए। यसबाट करिब ११८ मेट्रिक टन फोहोर संकलन भएको वातावरण व्यवस्थापन विभागले जनाएको छ । जनप्रतिनिधिले पद बहाली गरेको १ बर्ष पूरा भएको अवसरमा सबै वडामा एकै पटक सरसफाइ गरिएको हो । सफाइका लागि ब्रमुर, जेटसहित साधन तथा उपकरण परिचालन गरिएको थियो ।
 
आज विहान ७ बजे सरसफाइ सुरु भएको थियो । यस क्रममा महानगरकी उपप्रमुख सुनिता डंगोल, वडा नं. १२, २० र २१ का विभिन्न स्थानमा पुगेर सफाइ कार्यमा सहभागी हुनुभएको थियो ।
 
सरसफाईपछि प्रतिक्रिया दिँदै उपप्रमुख डंगोलले भन्नुभयो, ‘सरसफाइ र स्वच्छता हाम्रो दायित्व हो । यो दायित्व सहभागितामूलक व्यवस्थापन पद्धतिले मात्र दिगो बन्छ । यसकारण सरसफाइ कार्यक्रमलाई अभियानका रुपमा नियमित सञ्चालन गरेर नागरिकको सहभागिता बढाउँदै लैजानुपर्छ ।’ उहाँले थप्दै भन्नुभयो, ‘फोहोर उत्पादक व्यवस्थापनप्रति जिम्मेवार हुनुपर्छ । यसका लागि आवश्यक पर्ने सहयोग महानगरले उपलब्ध गराउँछ ।’
 
कार्यक्रमको अनुगमनमा रहनुभएका प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारीले भन्नुभयो, ‘सरसफाइ र स्वच्छताका लागि महानगरपालिकाले जिम्मेवारी पूरा गर्छ, नागरिकले पनि आफ्नो दायित्व पूरा गर्नुपर्छ ।’ कार्यक्रम सञ्चालन तयारीको सन्दर्भदेखि विभिन्न ठाउँमा पुगेको, विभिन्न क्षेत्रमा व्यक्तिसँग भेट गरिएको र आजको सरसफाइमा सहभागिताको विश्लेषण गर्दै उहाँले भन्नुभयो, ‘घर बनाउँदै गर्नुभएका महानगरबासीले सडकमा जथाभावी निर्माण सामग्री राखि दिँदा ढल बन्द भएको धेरै भेटियो । उत्पादित फोहोरलाई सही समय र ठाउँमा राख्नु पर्नेमा समुदायले जिम्मेवारी पूरा गरेको देखिएन । यसलाई नियमन गर्नुपर्ने नाइकेको र निजी क्षेत्रको भूमिका प्रभावकारी देखिएन ।’
 
आफूले फोहोर उत्पादन गर्ने, व्यवस्थापन चाहिँ नगरपालिकाले गरिदेओस् भन्ने नागरिक मनोविज्ञान सबैभन्दा ठूलो समस्या हो । अधिकारीले भन्नुभयो, ‘आजको सरसफाइमा अपेक्षित सहभागिता हुन सकेन । यो नागरिक मनोविज्ञानको बिम्ब हो ।’ कार्यक्रमलाई व्यवस्थित गर्न हरेक वडामा टोली प्रमुखसहित सहयोगी अधिकृत कर्मचारी, वडा सचिव, सेनिटेसन सुपरभाइजर, एक जना नगर प्रहरी र नाइके कर्मचारीको टोली खटाइएको थियो ।
 
टोलीले वडाध्यक्ष, सदस्य तथा वडाका अधिकारीसँग बैठक बसेर सफाइका लागि भेट गर्ने ठाउँ, सफाइ गरिने क्षेत्रलगायत विषयमा निर्णय गरेको थियो ।
 
सफाइका क्रममा सडक, पार्क, नदी किनारामा भेटिएको फोहोर टिपिएको थियो । यस्तै घरका दैलो दैलोमा पुगेर जथाभावी फोहोर बाहिर ननिकाल्न आग्रह गरिएको थियो । यस क्रममा उपप्रमुख डंगोलले भन्नुभयो, ‘स्वच्छ सहर निर्माण गर्ने महानगरको दायित्व हो । नागरिकको सहभागितामा सरसफाइ गरेर सहरी स्वच्छतालाई दिगो बनाउने अभियानका रुपमा विशेष सरसफाइलाई लिनुपर्छ ।यस्ता कार्यक्रम नियमित चल्दै गए भने समस्या समाधानका लागि नागरिक तहबाट अपनत्व बोध हुन थाल्छ । स्वच्छताको दिगोपनाका लागि यही महत्वपूर्ण कदम हो ।’
 
\सफाइका क्रममा सहरलाई प्रदुषित हुनबाट रोक्ने प्रयासमा नागरिकलाई सहभागी गराइएको थियो । यस्तै दैलोमा पुगेर फोहोरलाई स्रोतमा बर्गीकरण गर्न, उचित समयमा जिम्मेवार फोहोर संकलकको सवारी साधनमा मात्र फोहोर जिम्मा लगाउन, जैविक फोहोरलाई घरमै व्यवस्थापन, पुनःप्रयोग र पुनः चक्रिय प्रयोगबाट घटाउन, प्लाष्टिकका झोलाको प्रयोग कम गर्न अनुरोध गरिएको थियो ।